डिजिटल कारोबारमा जोडिँदै लघुवित्त



आठ लघुवित्तको सेवा शुरू, १५ ओटा पाइपलाइनमा

काठमाडौं,जेठ ९ । लामो समयदेखि लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिने भन्दै आए पनि हाल केहीले यसको शुरुआत गरेका छन् । कोभिड महामारीका कारण सुरक्षित रूपमा कारोबार गर्नुपरेकाले लघुवित्तहरू अन्ततः डिजिटल कारोबारमा जोडिन थालेका हुन् ।

पछिल्लो समय आठओटा लघुवित्त वित्तीय संस्थाले ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएका छन् । सञ्चालनमा रहेका ७४ ओटा लघुवित्त वित्तीय संस्थामध्ये ग्लोबल आईएमई, छिमेक, लक्ष्मी, विजय, वोमी, साधना, जीवन विकास र किसान लघुवित्त वित्तीय संस्थाले डिजिटल भुक्तानी सेवा शुरू गरेका हुन् । ई–सेवामार्फत यो सुविधा लिन थप १५ ओटा लघुवित्त संस्था पाइपलाइनमा रहेको कम्पनीले बताएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघले पनि अबको प्राथमिकता विद्युतीय भुक्तानी प्रणाली भएकोे भन्दै यसको प्रयोगमा जोड दिँदै आएको अध्यक्ष वसन्तकुमार लम्सालले बताए ।

आवश्यकता अनुसार लघुवित्त संस्थाहरूले डिजिटल भुक्तानी सेवा शुरू गर्दै जाने उनको भनाइ छ । कोरोना महामारीले कार्यालयमा आउजाउ गर्न चुनौती भएकाले पनि अबको विकल्प डिजिटल कारोबार भएको उनले बताए ।

यद्यपि विद्युतीय भुक्तानीमा अझै पनि ग्राहक अभ्यस्त हुन नसकेको उनको भनाइ छ । ग्राहकले एप्लिकेशन डाउनलोड गर्न झन्झट मान्ने र सबैको स्मार्टफोन नहुने कारणले पनि डिजिटल भुक्तानीको पहुँच बढाउन चुनौती रहेको उनले बताए । त्यसो त स्मार्टफोन नभएका ग्राहकले ई–सेवाको एजेन्टबाट पनि डिजिटल भुक्तानी सेवा लिन सक्छन् । तर सबै ठाउँमा यस्ता एजेन्ट छैनन्, जसले गर्दा यसको अपेक्षित विस्तार हुन सकेको छैन ।

संघका अध्यक्ष लम्सालले हाल विजय लघुवित्तमा दैनिक करीब ५० देखि ६० जना ग्राहकले ई–सेवामार्फत भुक्तानी गरिरहेको जानकारी दिए । शुरुआत भएकाले यो वर्ष ई–सेवामार्फत कारोबार गरेबापत सेवाशुल्क नलिने सम्झौता भएको उनले बताए । ‘संस्थामा कुल ग्राहक भने ३२ हजार जना छन् । ई–सेवाबाट कारोबार गर्न ग्राहकलाई अझै अन्योल भएको देखिएको छ । हामीले पनि राम्रोसँग अभिमुखीकरण गर्न पाएका छैनौं,’ उनले भने, ‘सीमित कर्मचारीले बुझाउने काम भने गरेका छन् ।’

पछिल्लो समय ई–सेवामार्फत कारोबार गर्न इच्छुक लघुवित्त संस्थाको संख्या बढ्न थालेको भन्दै कम्पनीका सीओओ रोशन लामिछानेले थप १५ ओटा पाइपलाइनमा रहेको जानकारी दिए । ‘कतिपय लघुवित्त छिट्टै सेवा लिने तयारीमा छन् । ४०–५० ओटा लघुवित्तलाई समेट्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘लघुवित्तका ग्राहकको बचत, किस्ता, ब्याज नियमित गर्न गतवर्षको लकडाउनमै छिमेक लघुवित्तबाट शुरुशात गरेका हौं ।’

छिमेकपछि विजय र लक्ष्मी लघुवित्तले डिजिटल भुक्तानी सेवाको शुरुआत गरेका थिए । यसपछि अन्य लघुवित्त ई–सेवामा आबद्ध हुने क्रम बढेको सीओओ लामिछानेले बताए । गतवर्षको लकडाउनमा कतिपय लघुवित्तले बचत, किस्ता, ब्याज उठाउन नसकेकोमा अहिले निषेधाज्ञाको बेला पनि ई–सेवामार्फत दैनिक १५ सयदेखि २ हजार ग्राहकले भुक्तानी गरिरहेको जानकारी उनले दिए ।

छिमेक लघुवित्त वित्तीय संस्थाले गत भदौदेखि ई–सेवामार्फत डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको थियो । यसलाई थप व्यवस्थित गर्दै कम्पनीले ग्राहकलाई गत फागुन १४ गतेदेखि क्यूआर कोड सहितको डिजिटल कार्ड वितरण गरेको थियो । यसको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । महामारीको विद्यमान अवस्थामा डिजिटल भुक्तानी सेवा वरदान सावित भएको छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा बताउँछन् । भौतिक रूपमा उपस्थित भएर कारोबार गर्न जोखिमपूर्ण रहेको हालको विषम परिस्थितिमा ई–सेवाको प्रयोग सुरक्षित बनेको उनको भनाइ छ ।

छिमेकका ३ लाख ८३ हजार ग्राहक सबैलाई डिजिटल कार्ड उपलब्ध गराएको सीईओ शर्माले बताए । यसमार्फत करीब डेढ महीनामा करीब १० हजार ओटा कारोबार भइसकेको उनले बताए । हालसम्म कम्पनीका १८४ ओटा शाखामार्फत कारोबार भए पनि कोरोना कहरका कारण सुदूरपश्चिम लगायत अधिकांश क्षेत्रका कार्यालय बन्द रहेको उनले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्