१४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जाने निर्णय



काठमाडौं, जेठ ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च जाने बताएको छ ।

शनिबार राजधानीमा बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गर्ने राष्ट्रपतिको कदमलाई असंवैधनिक ठहर गर्दै उक्त कदमविरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठकमा शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसदसहितका नेताहरू संसद् पुनःस्थापनाको मागसहित मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च जाने सहमति भएको हो ।त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरूलाई नागरिकतासहित आइतबार १ बजे संसद् भवनमा बोलाउने निर्णय गरेको छ ।

सांसदहरूको हस्ताक्षरसहित आइतबार वा सोमबार नै सर्वोच्च जाने पाँच दलीय गठबन्धनले तयारी गरेको छ । गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कार्यप्रति भत्र्सना र निन्दा गरिएको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्