नुवाकोट भद्रुटारमा कोरोनाको आशंकामा शव जलाउने मलामी पाइएन



नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा कोरोना संक्रमणको आशंकामा शव जलाउने मलामीको समेत अभाव देखिएको छ। गाउँपालिकास्थित वडा नम्बर ५ चुहानडाडा भट्टीटोलका ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको लक्षणसहितको मृत्यु पश्चात् संस्कार कार्यमा मलामी अभाव भएको स्थानीय राजकुमार श्रेष्ठले बताए। शुक्रबार कोरोनाको लक्षण देखिएका तामाङको शनिबार तिव्र स्वासप्रस्वासमा समस्या देखिएपछि मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ।

स्थानीय व्यवसायी हरि थपलियाका अनुसार अहिले मृतक तामाङको सपरिवारसहित छिमेकीमा समेत ज्वरो आउने तथा रुघाखोकी लाग्ने जस्ता कोरोनाको लक्षणसहित बिरामी परेका छन्। मृतक तामाङको भने शनिबार साँझ स्थानीय केहि युवाहरु मिलि दाहसंस्कार गरिएको छ । दाहसंस्कार कार्यमा संलग्न महेन्द्र तामाङले कोरोना भएको हुनसक्ने भन्दै सबै डराएकाले केहि ब्यक्ति मिलि शव जलाएको बताए।

कोरोना परिक्षणमा आलटाल

केहि समयकै अन्तरालमा कोरोना लक्षणसहितको बिरामीको मृत्यु भएपनि गाउँपालिकाले चासो नदिएको स्थानीयहरुले बताएका छन् । गाउँपालिका तथा वडामा फोन गरि घटनाको बारेमा जानकारी गराइएपनि चासो नदिएको उनीहरु बताउँछन् ।

हामीले मान्छे मरेपनि परिक्षण गरौं भन्यौं तर शनिबार बिदाको दिन परेको भन्दै परिक्षणमा आलटाल गरियो- युवा व्यवसायी थपलियाले दुख व्यक्त गरे।

लक्षण देखियो कोरोना परिक्षण गरौ भन्दा मानेनन- शिक्षक तामाङ

सोही गाउँका इन्द्रबहादुर तामाङ अहिले कोरोना संक्रमण पुष्टिसंगै होम आइसोलेशोलेसनमा उपचाररत छन् । बच्छला माध्यमिक विद्यालयका शिक्षक तामाङ मात्र होइन उनिसहित परिवारका ४ जना सदस्यलाई कोरोना पुष्टि भयो। गाउँमा रहदा वडा अध्यक्षलाई पटकपटक परिक्षणको अनुरोध गरेको उनले बताए।

गाउँमा परिक्षण ढिलाइ हुने देखिएपछि काठमाडौस्थित शिक्षण अस्पतालमा परिक्षण गर्दा शिक्षक तामाङसहित भाइ,बहिनी र उनको बुबालाई कोरोना पुष्टि भएको साझापथसंग बताए । अहिले उनीहरु काठमाडौस्थित बानियाँटारमा होम आइशोलेशनमा उपचाररत छन् । शिक्षक तामाङले भने- बुबालाई निमोनिया पनि देखिएको छ तर डाक्टरको नियमित सल्लाहमा सबै उपचाररत छौं ।

यता पञ्चकन्या गाउँपालिकाका स्वास्थ्य प्रमुख हेमनारायण महतोले भने गाउँपालिकामा कोरोना संक्रमणबारे त्यसप्रकारको कुनै जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्