शिवपुरी कोभिड अस्पतालमा बिरामीको चाप बढ्दो



नुवाकोट,जेठ ९ । जिल्लाको शिवपुरी गाउँपालिकाद्वारा संचालित कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। तुलनात्मक रुपमा जिल्लामा स्थापना गरिएको आइसोलेशनमध्ये उत्कृष्ट आइसोलेशनसहितको कोभिड अस्पतालमा आइतबार मात्र सेवा क्षेत्रका ५ जना कोरोना संक्रमित भर्ना भएको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका स्वास्थ्य प्रमुख उद्दब कार्कीका अनुसार गाउँपालिकाका वडा नम्बर ४,५,७ र ८ वडा का ५ जना कोरोनाका बिरामी भर्ना भएका हुन। संक्रमितहरुलाई होम आइसोलेशन रहदा थप स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ।

हाल शिवपुरी गाउँपालिकामा ९६ जना कोरोना संक्रमित होम आइसोलेशनमा उपचाररत छन् जसअन्तर्गत ६ जना अस्पतालमा छन् । कोरोना परिक्षणलाई तिव्रता दिइरहेको गाउँपालिकाले भोलि सोमबार सबै संक्रमितको पिसिआर परिक्षण तथा शंकास्पद बिरामीको एन्टिजन परिक्षण समेत गरिने स्वास्थ्य शाखाका स्वास्थ्य सहायक मुकेश भट्टराईले जनाए ।

शिवपुरीका बिनोद तामाङले गरे अक्सिजन सिलिन्डर सहयोग

शिवपुरी गाउँपालिका वडा नम्बर ५ सिलामे स्थायी निवासी बिनोद तामाङले शिवपुरी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

कोभिड १९ को महामारीमा हाल विद्यमान अक्सिजनको अभावको कारणले सयौ बिरामीले ज्यान गुमाउनु परेकाले शिवपुरी गाउँपालिकाका नागरिकले यस्तो परिस्थिति भोग्नु नपरोस् भन्ने उद्देश्यका साथ दुई वटा अक्सिजन सिलिन्डर सहयोग गरेको तामाङले बताए।

माओवादी केन्द्र शिवपुरी गाउँपालिकाको सचिवालय सदस्य तथा पर्यटन व्यवसायी समेत रहेका तामाङले यस विषम परिस्थितिमा सबैलाई सहयोगको अनुरोध समेत गरे।

तस्बिरमा कोभिड अस्पताल तथा उपचार व्यवस्थापन

तस्वीर श्रोत:उद्दब कार्की,स्वास्थ्य शाखा प्रमुख

प्रतिक्रिया दिनुहोस्