जसपामा कारबाही होडबाजी



काठमाडौं, जेठ १०। फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो ।

विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।

तर, जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई समूह विपक्षी गठबन्धनसँग सहकार्य गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी छन् ।

पार्टीशीर्ष नेता नै दुई समूहमा विभाजित भएपछि जसपा फुट्ने सम्भावना बढेर गएको छ । फुटनजिक पुगेको जसपा अध्यक्ष यादव समूहले पार्टी नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

यादव समूह कार्यकारिणी समिति बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।

पार्टी नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दै÷गराउँदै हिँड्ने अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्