संक्रमितको घरमै पुगेर औषधी वितरण गर्दै वीरेन्द्रनगर



सुर्खेत,जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ ।

नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, वडा सदस्यहरू र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

स्वास्थ्य सामग्री दिनेसँगै स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन पनि गर्ने गरिएको नगपालिकाले जनाएको छ । कोरोना संक्रमित होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायत गुनासा आउन थालेपछि नगरपालिकाले कोरोना किटसँगै अनुगमनलाई पनि तीव्रता दिएको हो ।

संक्रमितको घरमै पुग्ने स्वास्थ्य टोलीले बिरामीको अक्सिजन लेभल नियमित चेकजाँच गर्छ । अक्सिजनको मात्रा कमी भएकालाई आफैंले सञ्चालन गरेको नगर अस्पतालमा ल्याएर उपचार गराउन थालिएको नगरपालिकाले जनाएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार सोमबार, बुधबार र शुक्रबार निःशुल्क पिसिआर परीक्षणका साथै संक्रमण बढी देखिएका वडा–२, ३, ८ र १२ मा एन्टिजेन परीक्षणलाई पनि तीव्रता दिइएको छ ।

नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवासहितको २५ बेडको कोभिड अस्पतालसमेत सञ्चालन गरिरहेको छ । नरपालिकाले पारासिटामोल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बी र सी, जीवनजल, साबुन, कोलगेट, ब्रससहितको कोरोना किट तयार पारेको छ ।

‘संक्रमितको घरमै पुगेर बिरामीलाई आवश्यक औषधि र परामर्श दिने गरिएको नगरप्रमुख सुवेदीले बताए । ‘जनप्रतिनिधि स्वास्थ्यकर्मीको टोली लिएर संक्रमितको अवस्था बुझ्ने तथा औषधीलगायत सामग्री वितरणमा जुटेका छौं’, नगरप्रमुख सुवेदीले भने ।

पछिल्लो तथ्यांकअनुसार वीरेन्द्रनगरमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सयभन्दा बढी छ । प्रदेशभर सबैभन्दा बढी कोरोना संक्रमित वीरेन्द्रनगरमा छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्