शेयर कारोबार रकममा नयाँ रेकर्ड



काठमाडौं,जेठ ११ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।

जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।

देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख ३६ हजार ४९९ पटकको व्यापारमा हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो ।

कारोबार रकममा सर्वाधिक अंश यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ओगटेको छ । आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको कम्पनीको शेयरप्रति सोमवार उच्च आकर्षण रहेको देखियो । यस दिन यस कम्पनीको रू. १ अर्ब २६ करोड १९ लाख बराबरको शेयर कारोबार भयो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ७ दशमलव १० प्रतिशत बढेको छ । यस दिन प्रतिकित्ता रू. ३९ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५८८ कायम भयो ।

हालसम्मकै उच्च रकमको कारोबार भएको दिन निर्जीवन बीमासमूह र लगानी समूहको परिसूचक सर्वाधिक बढेको छ । यस दिन निर्जीवन बीमा समूहको १ दशमलव ३९ प्रतिशत र लगानी समूहको १ दशमलव ३७ प्रतिशत परिसूचक बढेको छ । बैंकिङ समूहको शून्य दशमलव २२ प्रतिशत, जलविद्युत्को शून्य दशमलव १८ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको छ ।

सोमवारको बजारबाट वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । वित्त समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २ प्रतिशत घटेको थियो । यस दिन व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशत, होटेल तथा पर्यटन समूहको शून्य दशमलव ४९ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८१ प्रतिशत, अन्यको शून्य दशमलव ४१ प्रतिशत, लघुवित्तको शून्य दशमलव १ प्रतिशत र जीवन बीमासमूहको शून्य दशमलव ३१ प्रतिशत परिसूचक घटेको छ ।

सोमवार समग्र नेप्से परिसूचक भने ३ दशमलव शून्य ७ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत बढेर २ हजार ८२३ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ अंक अर्थात् शून्य दशमलव २६ प्रतिशत बढेर ५०८ दशमलव ४९ विन्दुमा पुगेको छ ।

सामान्य अंकले नेप्से उकालो लागेको यस दिन चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । वरुण हाइड्रोपावरको ९ दशमलव ९५ प्रतिशत, युनाइटेड इदी मादीको ९ दशमलव ८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९ दशमलव ८७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ४५ प्रतिशतले मूल्य बढेको छ ।

यस दिन एक्सेल डेभलपमेन्ट बैंकको ४ दशमलव ४७ प्रतिशत, गुडविल फाइनान्सको ४ दशमलव ३७ प्रतिशत र सेन्ट्रल फाइनान्सको ४ दशमलव १३ प्रतिशतले शेयरमूल्य घटेको छ । एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता रू. ३० ले घटेर अन्तिम मूल्य रू. ६४१, गुडविल फाइनान्सको प्रतिकित्ता रू. १९ ले घटेर अन्तिम मूल्य रू. ४१६ र सेन्ट्रल फाइनान्सको प्रतिकित्ता रू. १३ ले घटेर अन्तिम मूल्य रू. ३०२ मा झरेको हो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्