स्कुले तहको वार्षिक परीक्षा वैकल्पिक विधिबाट लिइँदै



काठमाडौं, जेठ १२। कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् । जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने योजनाका साथ राजधानीका सामुदायिक विद्यालय यसको तयारीमा जुटेका हुन् ।

भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि विद्यालयले अनलाइन माध्यम, परियोजना गृहकार्य, मोबाइलबाट मौखिक परीक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कनलगायतको माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने कार्य सुरु गरेका छन् ।

राजधानीको सरस्वती निकेतन माध्यमिक विद्यालयले अनलाइन माध्यमका आधारमा विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन सुरु गरेको छ । अनलाइनमा जोडिन सम्भव नहुने विद्यार्थीलाई टेलिफोनबाट परीक्षा लिइएको छ । परीक्षा जेठ १४ गते सक्ने विद्यालयको योजना छ । सो विद्यालयका प्रधानाध्यापक रविना महर्जनले माथिल्लो कक्षाका ८० प्रतिशत जति विद्यार्थी अनलाइनमा जोडिएकाले परीक्षा सञ्चालनमा सहज भएको बताए ।

फोनमा समेत सम्पर्क हुन नसक्ने केही विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्याङ्कनको माध्यमबाट कक्षा स्तरोन्नति गरिने प्रअ महर्जनले जानकारी दिए । यसअघि यो विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा दुई पटक परीक्षा लिइसकेका कारण त्यसको समेत आधारमा विद्यार्थीको अन्तिम सिकाइ उपलब्धि मूल्याङ्कन गरिने जनाइएको छ ।

राजधानीकै जनपथ माध्यमिक विद्यालयले अनलाइनमा उपलब्ध विद्यार्थीलाई सोही माध्यमबाट परीक्षा लिने भएको छ । जेठ १३ गतेदेखि परीक्षा सुरु गरी २२ गतेसम्म सक्ने विद्यालयको कार्यतालिका छ । सबै विद्यार्थी अनलाइनमा जोडिन नसकेकाले केही विद्यार्थीलाई मोबाइलमा प्रश्न सोधेर पनि अन्तिम परीक्षा लिइने विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले जानकारी दिए।

विद्यालयले टेलिफोनमा सम्पर्क हुन नसक्ने विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्याङ्कनबाट समेत विद्यार्थीको सिकाइ उपलिब्धको परीक्षण गर्नेछ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्