परराष्ट्रमन्त्री ज्ञवालीले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री



गुल्मी,जेठ १३ । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । जिल्लाको गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुको लागि अक्सिजनसहितका सिलिन्डर, माक्स, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् । 

स्वास्थ्य सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरे । जिल्ला भरका ४ प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका लागि ६० वटा अक्सिजनसहितका सिलिन्डर, ९ वटा कन्सन्टेटर, ६ हजार सर्जिकल माक्स, ६० लिटर सेनिटाइजर, एन् नाइन्टी फाइभ् माक्स पाचँ सय वटा, गाउन र पिपिई दुई÷दुई सय थान, एन्टिजेन्ट कीट एक हजार पाचँ सय, बेड पाचँ वटा लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण हस्तान्तरण गरेको नेपालीले बताए । 

जिल्लाबाट माग भएअनुसारको सामग्री केन्द्रबाट आएको नेपालीको भनाई छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्य सामग्री ल्याउन पहन गर्ने परराष्ट्रमन्त्री लगायत सबैलाई धन्यवाद् दिइन् ।
जिल्लामा आइसियु तथा अक्सिजन प्लान्ट निर्माणको काम पनि अगाडी बढेको भन्दै प्रजिअ शर्माले बताइन् । केन्द्रबाट स्वास्थ्य सामग्री आएसँगै उपचारमा सहजता आउने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

जिल्लामा ७८३ जना सक्रिय संक्रमितसंख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हालसम्म १ हजार १२४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्केका छन् । गुल्मीमा कोरोना संक्रमणका कारण ७४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्