झन्डै १६ खर्बको बजेट आज



काठमाडौं, जेठ १५ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदैछ ।

स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने ‘सिलिङ’ बजेट करिब १६ खर्ब हाराहारी छ । संसद् विघटन भएकाले यसपपटक सरकारले ‘नीति तथा कार्यक्रम’ भने ल्याउन सकेन ।

संविधानअनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि ‘प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघटन भएसँगै अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागिएको हो ।

विगत वर्ष दुवै संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने परम्परा रहेकोमा यसपपटक विघटन भएकाले वैकल्पिक उपाय अपनाइएको छ । जटिल अवस्थाकाकै कारण बजेट भाषणभन्दा एक महिनाअघि ‘नीति तथा कार्यक्रम’ राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलनसमेत तोडिएको छ । यसअघि, नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो ।

संक्रमणकालीन अवस्था मध्यनजर गर्दै सरकारले बजेट भाषणका अन्य प्रक्रियामा छाँटकाट गरेको छ । संविधानको धारा ११९ को उपधारा (३) अनुसार सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्छ । सोही संवैधानिक प्रावधानअनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेकाले बजेट निर्माणसम्बन्धी संसदीय प्रक्रिया अघि बढ्न पाएनन् । जसका कारण पूर्ण बजेट सार्वजनिक गर्नुुअघि हुनुपर्ने प्रक्रिया तथा छलफलसमेत हुन नपाएको बताइएको छ ।

सामाजिक सुरक्षा भत्ता र श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलब केही बढाइनेछ । विशेषगरी कोरोना रोकथाम र आर्थिक पुनरुत्थानसहितको पूर्ण बजेट आउने सरोकारवालाको अनुमान छ ।

यसपटक निजी क्षेत्र एवं व्यवसायीलाई चिढ्याउनेगरी कर नीति तयार नगरिएको अर्थ मन्त्रालय स्रोतले बतायो । कर दायरा बढाउन प्रयास भने गरिएको छ ।

स्रोतका अनुसार बजेटमा महत्वपूर्ण दर यथावत् राखिएको छ । निजी क्षेत्रलाई असर गर्ने आयकर मूल्य अभिवृद्धि कर ९भ्याट० दर यथावत् छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्