पुसभित्र लक्षित समूहलाई खोप



काठमाडौं, जेठ १५ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् ।

कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख भोलि आइतबार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्नेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनबाट ५० लाख, अमेरिकाबाट ५० लाख र भारतबाट १७ लाख मात्रा खोपका लागि परिपत्र गरिएको छ । अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरिकासँग खोप उपलब्ध गराउन आग्रह गरिएको तर प्रक्रिया झन्झटिलो भएकाले केही ढिलो हुन सक्ने देखिएको मन्त्री ज्ञवालीले बताए । सन् २०२१ भित्र आमनागरिकलाई खोप लगाउनेगरी सरकार अघि बढिरहेको उनले जानकारी दिए ।

त्यस्तै, भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाइसकेको छ ।

‘कोभ्याक्सअन्तर्गत नेपालले १९ लाख मात्रा खोप गत मार्चसम्म पाइसक्नुपर्ने थियो,’ मन्त्री ज्ञवालीले भने, ‘हालसम्म कोभ्याक्समार्फत ३ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । कूटनीतिक प्रयत्न जारी छ ।’

विभिन्न मुलुकसँग खोप खरिद वा अनुदान विषयमा छलफल भइरहेको बताउँदै मन्त्री ज्ञवालीले साता दिनभित्र ‘ब्रेक थु्र’ हुने प्रस्ट पारे । खोपका लागि ३६ अर्ब बजेट स्रोत सुनिश्चित गरिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्