नुवाकोट भद्रुटारमा ७० जनाको स्वाब संकलन



भद्रुटार वडा कार्यालयमा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी लगायत

नुवाकोट,जेठ १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टिसंगै स्वाब संकलनलाई तिव्रता दिइएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको लक्षणसहितको मृत्यु पश्चात् गत साता स्थानीयमा गरिएको स्वाब संकलनको रिपोर्टमा ५ जनाको कोरोना रिपोर्ट पोजिटिभ पुष्टिसंगै परिक्षणलाई तिव्रता दिइएको पञ्चकन्या गाउँपालिकाले जनाएको छ ।

समुदाय स्तरमै अझै बढी संक्रमित हुनसक्ने भन्दै वडा कार्यालयको अनुरोधमा गाउँपालिकाले परिक्षणको दायरा बढाएको वडाध्यक्ष्य डिल्लीबहादुर थापाले बताए। उनले साझापथसंग कुरा गर्दै गाउँघरमा थप स्वास्थ्य समस्या देखिएका नागरिकको सोमबार स्वाब संकलन गरिएको हो।

वडा अध्यक्ष थापाका अनुसार नागरिकको पहुँचका आधारमा सोमबार वडाको भद्रुटार हेल्थपोस्ट र चुहानडाडा वडा कार्यालय गरी दुई ठाउँमा स्वाब संकलन गरिएको हो । भद्रुटारको साविक वडा १,२,३ र ४ का सम्भावित बिरामीका लागि भद्रुटार हेल्थपोस्ट र साविक वडा ५,६,७,८ र ९ वडाका लागि वडा कार्यालय ठाटीको डिलमा स्वाब संकलन गरिएको पञ्चकन्या गाउँपालिकाका स्वास्थ्य प्रमुख हेमनारायण महतोले बताए।

स्वास्थ्य प्रमुख महतोका अनुसार सोमबार वडा कार्यालय ठाटीको डिलमा ४५ जना र भद्रुटार हेल्थपोस्टमा २५ जनाको स्वाब संकलन गरिएको छ।

कोरोना संक्रमित निर्वाध गाउँघर चहार्दै

स्थानीयस्तरमा स्वाब तथा एन्टिजेन्ट प्रविधिबाट परिक्षण गरि कोरोना पोजिटिभ पुष्टि भएका संक्रमित निर्वाध गाउँघर हिड्ने गरेको पाइएको छ। गत साता कोरोना पुष्टि भएका भद्रुटारका एक महिला दिनभर मकै गोड्न हिड्ने गरेको बताउछिन। आफुलाई कोरोना पुष्टि भएको तर लक्षण केहि नदेखिएको भन्दै उनी आफ्नो दैनिकी लाई निरन्तरता दिदै आइरहेकी छिन।

नाम उल्लेख नगर्ने शर्तमा एक युवा भन्छन् कतिपय कोरोना संक्रमित गाउँघरमा अघिपछिका झै डुलिहिड्ने गरेको साझापथलाई बताए । पञ्चकन्या गाउँपालिकाका स्वास्थ्य प्रमुख हेमनारायण महतो यस कुरालाई स्विकार्छन। उनी भन्छन् ‘समाजमा अझै त्यस्ता मान्छे छन् जो कोरोनाको लक्षण देखिए तापनि विना संकोच जचाँउन जादैनन ‘

उता शिवपुरी गाउँपालिकाले भने कोरोना संक्रमण पुष्टिसंगै होम आइसोलेशनमा नबस्नेलाई गाउँपालिकाको आइसोलेशनमा राख्ने गरेको गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्दब कार्कीले बताए। कोही कसैले अटेर गरेमा संक्रामक रोग ऐन अनुसार कार्वाही गरिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्