नुवाकोटका किसान आधुनिक कृषिप्रविधितर्फ अभ्यस्त बन्दै, परियोजनाले १५६ वटा ट्याक्टर दिने



वितरणका लागि तयारी अवस्थामा ट्याक्टर

नुवाकोट,जेठ १८ । जिल्लामा किसानहरु आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका छन् । परम्परागत कृषिकर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको हो । यदाकदा गोरु जुधाउन बाहेक किसानहरूले बिस्तारै गोरु पाल्न छोडेको देखिन्छ।

आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका कारण कृषिकर्ममा प्रभाव पर्न थालेपछि ट्याक्टरको अधिक प्रयोग हुन थालेको सरोकारवालाहरु बताउँछन्।उनीहरूका अनुसार ट्याक्टरले खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकै सजिलो हुने भएकाले प्रविधि तर्फ आकर्षक बढेको हो ।

जिल्लामा हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नुवाकोटले १ सय ५६ वटा ट्याक्टर वितरण गर्ने तयारी गरेको छ। किसानहरुको बढ्दो मागलाई ध्यानमा राख्दै कतिपय गाउँपालिकामा ट्याक्टर वितरण गरिसकिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नुवाकोटका नायब प्राविधिक सहायक राजनकुमार डङोलले बताए।

परियोजनाका राजनकुमार डङोलसहित

डङोलका अनुसार आलुजोन तर्फ लिखु गाउँपालिकामा २० वटा मिनिटेलर र १४ वटा पावरटिलर, पञ्चकन्या गाउँपालिका १ र २ वडामा ४ वटा पावरटिलर र ६ वटा मिनिटिलर,सूर्यगढी गाउँपालिकामा २ वटा पावरटिलर र ३ वटा मिनिटिलर त्यस्तै ककनी गाउँपालिका वडा नम्बर ८ मा ६ वटा मिनिटिलर वितरण गर्ने तयारी गरिएको हो।

त्यस्तै तरकारी जोनतर्फ ककनी गाउँपालिका वडा नम्बर १ देखि ७ मा ५४ वटा मिनिटिलर,शिवपुरी गाउँपालिका वडा नम्बर ६,७ र ८ मा १६ वटा मिनिटिलर,पञ्चकन्या गाउँपालिका वडा नम्बर ३,४ र ५ मा १९ वटा मिनिटिलर र दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ र ५ मा १२ वटा मिनिटिलर वितरण गर्न लागिएको हो।

किसानलाई ५० % अनुदानमा कृषि आधुनिकीकरण परियोजना इकाईले दिने गर्दछ। अनुदानमा मिलिटिलरको मूल्य किसानलाई ३९ हजार ५०० पर्दछ भने पावरटिलर १ लाख ४९ हजार पर्दछ। ट्याक्टरको प्रयोगले किसानको लागत कम र जनशक्ति अभावको समस्या समेत समाधान हुने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्