चीनबाट आइपुगेको भेरोसेल खोप जेठ २५ देखि लगाइने



काठमाडौं,जेठ १९ । चीनले अनुदानमा दिएको १० लाख खोप जेठ २५ गतेदेखि लगाउन शुरू गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट अनुदानमा आएको भेरोसेल खोप जेठ २५ गतेदेखि लगाउने तयारी गरेको जानकारी दिएको छ ।

गतवर्ष चैत तेस्रो साता चीनबाट ८ लाख डोज खोप नेपाल आएको थियो । चीनले अघिल्लो वर्ष माघ १८ मा ३ लाख र पछि फागुन १७ मा थप ५ लाख खोप अनुदानमा दिने घोषणा गरेअनुसार उक्त खोप नेपाल आएको थियो । यसमध्ये ३ लाख ४४ हजार ७१४ जनालाई डबल डोज नै लगाइसकिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

उनले भने, ‘भेरोसेल खोप लगभग सबैलाई डबल मात्रा लगाइसकिएको छ । अब लगाउन बाँकी केहीसहित थपलाई नयाँ आइपुगेको खोप लगाइनेछ ।’ यसमध्ये पहिलो खोप लगाएर दोस्रो मात्रा लगाउन बाँकीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी उनले दिए । योसँगै प्राथमिकतामा परेर छुटेकासहित अनलाइनमार्फत सबैका लागि खोप खुला गरेकोमा सूचीअनुसार क्रमशः खोप लगाउँदै जाने तयारी गरिएको उनले बताए ।

अघिल्लो बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तापछि चीनले अनुदानमा १० लाख उपलब्ध गराउने बताएको थियो । त्यही १० लाखमध्ये ८ लाख डोज खोप मंगलवार नेपाल आइपुगेको हो । नेपाल वायुसेवा निगमको विमानबाट मंगलवार चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको हो । बाँकी २ लाख डोज तिब्बत प्रान्तले दिने र यसमध्ये १ लाख खोप मंगलवार नै हिमालय एयरलाइन्सले ल्याइसकेको छ । बाँकी १ लाख खोप बुधवारसम्म आइपुग्ने बताइएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटरमार्फत चीन सरकारले उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल आइपुगेको जानकारी गराएकी छन् ।

चिनियाँ भेरोसेल र भारतीय कोभिडशिल्ड दुवै गरी हालसम्म नेपालमा २८ लाख २७ हजारलाई खोप लगाइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्