तीन देशमा नियमित उडानको अनुमति



काठमाडौं,जेठ १९ । सरकारले चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिका पनि तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ । भोलि अर्थात् बिहीवारदेखि टर्किश एयरलाइन्सले नियमित उडान शुरू गर्दै छ भने कतार एयरलाइन्सले आगामी सोमवारदेखि काठमाडौं–दोहा उडान गर्ने समय तालिका पाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । टर्किश एयरलाइन्सको विमान बिहान ९ बजे नेपाल आउने र सोही दिनको बिहान ११ बजे नै फर्कने तालिका तयार भएको उनले बताए ।

तर, तीन देशमध्ये चीनतर्फको उडानका लागि चिनियाँ एयरलाइन्स र नेपालको निजी विमान कम्पनी हिमालय एयरलाइन्सले हालसम्म काठमाडौं–चीन उडानका लागि आवेदन दिएका छैनन् । सरकारको निर्णयसँगै चीन र हिमालय एयरलाइन्ससँग पनि उडानको आवेदन दिन अनुरोध गरिएको उनको भनाइ छ ।

चीनले अहिले उडानमा निकै कडाइ गरेको हुँदा त्यसतर्फको उडानका लागि आवेदन नपरेको हुन सक्ने प्राधिकरणको आकलन छ । यसैगरी नेपाल एयरसलाइन्सले पनि नियमित उडानका लागि अनुमति पाएको उनले जानकारी दिए । हाल चार्टर उडान गर्दै आएको नेपाल एयरलाइन्सले दोहाका लागि नियमित उडान गर्ने अनुमति पाएको छ ।

उसले सोमवार राति ११ बजे उडान गर्ने र मंगलवार बिहान नेपाल फर्कने गरी तालिका पाएको उनले बताए ।

सरकारले वैशाख २३ गते मध्यरातदेखि अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो । कार्गाे, चार्टर उडान र भारतमा साताको २ ओटा उडान गर्न भने यथावत् राखिएको थियो । त्यसको झन्डै १ महीनामा सरकारले उल्लिखित ३ देशमा नियमित उडान गर्न दिने निर्णय गरेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्