१० लाख हिताधिकारीलाई सेवा दिँदै सैनिक कल्याणकारी कोष, शिक्षा र स्वास्थ्यमा ठूलो योगदान
काठमाडौँ,कात्तिक २२ । नेपाली सेनाको सैनिक कल्याणकारी कोष बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण संस्थागत आधारका रूपमा विकसित भएको छ। कोषमार्फत हाल १० लाख हिताधिकारीले शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षासम्बन्धी सुविधा प्राप्त गरिरहेका छन्।
नेपाली सेनाले २०३२ सालदेखि सञ्चालन गर्दै आएको कोषले सैनिक परिवारको कल्याणसँगै राष्ट्रिय जनशक्ति विकास र सामाजिक सुरक्षामा समेत योगदान पुर्याउँदै आएको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोषबाट करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयमा अध्ययनरत छन् भने एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन्।
कोषले सैनिक परिवारका सन्ततिलाई गुणस्तरीय तथा सहुलियतपूर्ण शिक्षा प्रदान गर्न सैनिक विद्यालय तथा महाविद्यालय, मेडिकल, नर्सिङ, पोलिटेक्निक्स र कृषि विज्ञान संस्थानमार्फत शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी संस्थाबाट हालसम्म एक हजार ७४ चिकित्सक, दुई हजार ७६ नर्स, ५५ प्राविधिक जनशक्ति र ४०९ कृषिविज्ञ उत्पादन भइसकेका छन्।
त्यस्तै, विभिन्न जिल्लाका २४४ सम्झौताबद्ध शैक्षिक संस्थामार्फत चार हजार ६०० सैनिक परिवारका सन्ततिले अध्ययन सुविधा पाएका छन्। शैक्षिक संस्थामा अध्ययनको अवसर नपाएका करिब ३५ हजार हिताधिकारीका एक सन्ततिलाई वार्षिक २५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिँदै आएको छ।
स्वास्थ्य सेवातर्फ पनि कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। वीरेन्द्र सैनिक अस्पतालसहित देशका विभिन्न प्रदेशमा सञ्चालित सैनिक तथा फिल्ड अस्पतालबाट हिताधिकारीलाई सेवा उपलब्ध गराइएको छ। सैनिक अस्पतालबाहेक तोकिएका १८ गैरसैनिक अस्पतालमा उपचार गराउँदा लाग्ने खर्चसमेत शोधभर्ना गर्ने व्यवस्था छ।
आर्थिक वर्ष २०८२/८३ मा उपचार सेवाबाट करिब पाँच लाख हिताधिकारी लाभान्वित भएका छन्। जटिल प्रकृतिका रोग लागेका एक हजार २६ जना बिरामीले एक लाख ६० हजार रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गरेका छन्।
अवकाशप्राप्त सैनिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले कोषले सीप विकास, उद्यमशीलता, स्वरोजगार तथा सहुलियतपूर्ण कर्जाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रदेशस्तरमा रहेका इपिसेन्टरमार्फत कृषि, उद्योग तथा व्यवसाय सञ्चालनका लागि तालिम र आर्थिक सहयोग उपलब्ध गराइँदै आएको छ। व्यावसायिक तालिम केन्द्रबाट हालसम्म आठ हजारभन्दा बढी हिताधिकारीले सीपमूलक तालिम प्राप्त गरेका छन् भने कोषका विभिन्न निकायमा करिब दुई हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
सैनिक परिवारको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा दुर्घटना बीमा, विपद् राहत, सहुलियतपूर्ण आवास तथा घडेरी कर्जा र सवारीसाधन खरिदका लागि ऋण सुविधा पनि उपलब्ध गराइएको छ।
यद्यपि, हिताधिकारीको बढ्दो सङ्ख्या र आयस्रोतमा आएको सङ्कुचनले कोषको दीर्घकालीन आर्थिक दिगोपनमा चुनौती थपिएको छ। बैंकबाट प्राप्त हुने ब्याज आम्दानीमा गिरावट तथा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सैनिकको सङ्ख्या र बजेटमा गरिएको कटौतीले कोषको आयमा प्रभाव पारेको छ।
यसलाई सम्बोधन गर्न रुपन्देहीको सैनामैनामा करिब १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। परियोजनाले कोषको दीर्घकालीन आयस्रोत विविधीकरण गर्नुका साथै स्वच्छ ऊर्जा विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। कोषले नेपाल सरकारलाई वार्षिक करिब ७० करोड रुपैयाँसम्म कर बुझाउँदै आएको छ।
सैनिक कल्याणकारी कोषले सैनिक परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सुरक्षालाई संस्थागत गर्दै राष्ट्रिय जनशक्ति उत्पादन, सामाजिक सुरक्षा तथा अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ। बढ्दो दायित्वअनुसार कोषलाई आर्थिक रूपमा दिगो र सेवामुखी बनाउनु आवश्यक देखिएको छ।

