सुर्खेतको बराहतालका दुई सामुदायिक वनबाट १४ थान अवैध भरुवा बन्दुक बरामद



सुर्खेत,कात्तिक २२ । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिकाका दुई सामुदायिक वनबाट प्रहरीले १४ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

बराहताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वन र वडा नं. ७ को स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट लुकाइछिपाइ राखिएका बन्दुक बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार साजघारी सामुदायिक वनमा बन्दुक लुकाएर राखिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले उक्त वनमा खोजतलास गर्दा झाडीभित्र लुकाइएका चार थान साबुत र दुई थान बेसाबुत गरी छ थान भरुवा बन्दुक फेला पारेको थियो।

त्यसैगरी, बराहताल गाउँपालिका–७ स्थित पानीडाँडा सामुदायिक वनमा खोजतलास गर्दा तीन थान बेसाबुत र पाँच थान साबुत गरी आठ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका १४ थान भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्