दरबार हत्याकाण्डको २० वर्ष पूरा,रहस्य गर्भमै



काठमाडौं,जेठ १९ । आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए ।

त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्