पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव



काठमाडौं, जेठ २४ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ ।

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गरेका छन् । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्नेमा रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफू पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिएका छन् ।

आइतबार राति पार्टीलाई एकजुट राख्न आफू तयार रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका हुन् । ओलीको एकता प्रस्ताव आएसँगै देशभरका एमाले कार्यकर्ता खुसी र उमंग बनेका छन् । देशभरका एमाले कार्यकर्ताहरूले प्रधानमन्त्री तथा अध्यक्षको एकता प्रस्ताव सकारात्मक भएकाले सोही प्रस्तावको जगमा टेकेर एमालेका सबै असन्तुष्ट पक्षलाई समेत पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।

अध्यक्ष ओलीको एकता आह्वान र कार्यकर्ताको दबाबका कारण माधव नेपाल समूहका अधिकांश नेता कार्यकर्ता पनि पार्टी एकताको पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीको एकता आह्वानलाई नेपाल समूहका नेताहरूले पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको एकता हुनुभन्दा अघिको अवस्थाबाट पार्टी सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेसँगै पार्टी फुटबाट जोगिएको हो ।

‘नेकपा (एमाले)लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ अध्यक्ष ओलीले आह्वान गर्दै भनेका छन् ।

एमाले वरिष्ठ नेता नेपाल समूहले पार्टी एकताका लागि अघि सारेका सर्तहरू ओलीले स्वीकार गर्दै पार्टी एकताका लागि आह्वान गरेका हुन् । मातहतका पार्टी कमिटी र जनसंगठन मूलभूत रूपमा ३ जेठ २०७५ पूर्वको अवस्थाबाट फर्केर क्रियाशील हुनेसमेत ओलीको प्रस्ताव छ । संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदल गठन गरेर समाधान गरिने ओलीले उल्लेख गरेका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस्