जनरल इन्स्योरेन्सका अग्रवालको निलम्बन फुकुवा



लगानी उपसमितिको संयोजकबाट भने हटाइयो

काठमाडौं,असार ९ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले मंगलवार अग्रवालमाथिको निलम्बन फुकुवा गरेको हो ।

लगानी निर्देशिकाभन्दा बाहिर रहेर शेयरबजारमा लगानी गरेको आरोपमा गत वैशाख ३ गते उनलाई समितिले निलम्बन गरेको थियो । अग्रवाल कम्पनीमा लगानी उपसमितिको संयोजक थिए । सोही हैसियतमै उनलाई निलम्बन गरिएको थियो । आवश्यक अनुसन्धान गरेर उनीमाथिको निलम्बन फुकुवा गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए यद्यपि, समितिले उनलाई कम्पनीको लगानी उपसमितिको संयोजकबाट हटाएको जानकारी उनले दिए । ‘अग्रवालबाट अनियमितता भएको रकम कम्पनीमा आइसकेको पाइयो । त्यसपछि अग्रवाललाई लगानी उपसमितिको संयोजकबाट हटाएर निलम्बन फुकुवा गरेका हौं,’ पौडेलले भने, ‘अन्य कारबाही भने सञ्चालक समितिमार्फत नै गर्न कम्पनीलाई निर्देशन दिएका छौं ।’

समितिले गत चैत २२ र २३ गते कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षण प्रतिवेदनले अग्रवालकै संलग्नतामा लगानीसम्बन्धी अनियमितता भएको देखाएको थियो ।

लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरूले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म रकम धितोपत्र बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न सक्नेछ । तर, जनरल इन्स्योरेन्सले त्यो सीमाभन्दा माथि गएर लगानी गरेको निरीक्षणको क्रममा पाइएको थियो । बीमा कम्पनीहरूले तोकिएको लगानीको सीमा प्रत्येक दिन नै कायम हुनुपर्नेछ । तर, गत चैत २३ गतेसम्म कम्पनीले तोकिएको सीमा पनि कायम नहुनेगरी लगानी गरेको देखिएको थियो । कम्पनीले आव २०७६/७७ को अन्त्यसम्म कायम टेक्निकल रिजर्भको ६४ प्रतिशतसम्म लगानी गरेको थियो । आव २०७५/७६ को अन्त्यसम्म कायम टेक्निकल रिजर्भको पनि अधिकांश रकम शेयरमै लगानी गरेको समितिको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्