निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपत बढ्दै



काठमाडौं,असार १० । निषेधाज्ञा खुकुलो भएसँगै विद्युत् खपत बढ्न थालेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण विद्युत् खपतमा कमी आएको थियो । अहिले निषेधाज्ञा खुकुलो बनाएपछि विद्युत् खपत बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकालगायत ठाउँमा निषेधाज्ञा खुकुलो बनाएको छ । सोही दिनदेखि नै विद्युत् खपतमा सुधार आएको हो । मंगलवार पिक समयमा १ हजार ३६५ मेगावाट विद्युत् माग भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । निषेधाज्ञा अवधिमा विद्युत्को पिक डिमान्ड १ हजार १७० मेगावाटसम्म झरेको थियो ।

‘निषेधाज्ञा कारण विद्युत् खपतमा कमी आएको थियो । यद्यपि, गर्मी बढेको समयमा भने विद्युत् खपतमा सुधार आउने गरेको थियो,’ उनले भने, ‘अहिले निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपतमा सुधार आएको छ ।’

निषेधाज्ञा खुकुलो भएपछि विभिन्न कर्पाेरेट कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालय, उद्योग कलकारखाना, डिपार्टमेन्ट स्टोरलगायत क्षेत्र सञ्चालनमा आउन थालेका छन् । त्यसको असरले विद्युत् खपत बढ्न थालेको प्राधिकरणको भनाइ छ ।

अहिले प्राधिकरणको विभिन्न आयोजनाबाट ४०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजीक्षेत्रको आयोजनाबाट ४४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अपुग अर्थात् ५२० मेगावाट विद्युत् भने भारतबाट नै आयात भएको प्राधिकरणका प्रवक्ता तिम्सिनाले बताए । ‘अहिले बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरू पनि प्रभावित हुँदा प्राधिकरणका पनि केही आयोजना सञ्चालनमा आउन सकेका छैनन् । त्यसैले गर्दा विद्युतको आयात पनि केही बढाउनु परेको भने छ,’ उनले भने । निषेधाज्ञाअघि भने विद्युत्को पिक डिमान्ड १३०० मेगावाटको हाराहारीमा थियो । निषेधाज्ञामा भने विद्युत्को पिक डिमान्ड ११७० मेगावाटदेखि १२२८ मेगावाट रहेको प्राधिकरणको भनाइ छ ।

यसपटकको निषेधाज्ञामा विद्युत् खपतमा पहिलेको जस्तो असर भने नदेखिएको पाइएको छ । कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा विद्युत् खपत ६०० मेगावाटसम्म झरेको थियो । तर, यसपटक भने विद्युत् खपतमा त्यति असर नदेखिएको विद्युत् प्राधिकरणले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्