वैशाख १६ पछि वाणिज्य बैंकको व्यवसाय : निक्षेप ६९ अर्ब थपिँदा ५६ अर्बले बढ्यो कर्जा प्रवाह



काठमाडौं,असार १० । सरकारले गत वैशाख १६ गतेदेखि शुरू गरेको निषेधाज्ञा असार पहिलो सातादेखि खुकुलो गरेको छ । यस अवधिमा अधिकांश व्यवसाय बढी प्रभावित भए पनि वाणिज्य बैंकको व्यवसाय भने तुलनात्मक रूपमा राम्रो देखिएको छ । निषेधाज्ञा भएको दिनदेखि असार ३ गतेसम्ममा मात्रै २७ ओटा बैंकले थप ६९ अर्ब निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ५६ अर्बले बढाएका छन् । असार पहिलो सातासम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब र कुल कर्जा प्रवाह ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरूले असार पहिलो साता भने निक्षेप बढाउन सकेका छैनन् । तर कर्जा थप ४ अर्ब प्रवाह गरेका छन् । वैशाख तेस्रो साता मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएपछि निक्षेप १ अर्बमात्र बढेर कुल ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो । सोही अवधिमा कर्जा प्रवाह पनि १५ अर्बले संकुचन भएर कुल कर्जा प्रवाह ३५ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित थियो ।

वैशाख चौथो साता निक्षेप १० अर्बले बढ्दा कर्जा प्रवाहमा १५ अर्बको वृद्धि भएको थियो । यस्तै पाँचौं साता ९ अर्ब निक्षेप थपिएकोमा ४ अर्ब थप कर्जा प्रवाह भएको थियो । त्यसपछिका सातामा निक्षेप संकलनमा उतारचढाव आए पनि थप कर्जा प्रवाह भने ४ अर्बदेखि १० अर्बसम्ममा वृद्धि हुँदै गएको संघको तथ्यांकले देखाएको छ ।

निषेधाज्ञा हुनुअघि चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप संकलन कुल ३९ खर्ब ४४ करोड पुगेको थियो भने कुल कर्जा प्रवाह ३५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । निषेधाज्ञापछिको अवधिमा निक्षेप संकलन घट्ने र कर्जा प्रवाह बढ्ने पनि भयो ।

निक्षेपको मुख्य स्रोत विप्रेषण बढिरहे पनि तुलनात्मक रूपमा निक्षेप वृद्धिमा प्रभाव परेको बैंकरहरू बताउँछन् । यद्यपि यो प्रभाव केही समयका लागि हुन सक्ने उनीहरूको बुझाइ छ । कर्जातर्फ पनि  नयाँ नगएको र अधिकांश प्रक्रियामा रहेका एवं पुराना कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । ‘पछिल्लो समय थप नयाँभन्दा पनि प्रक्रियामा रहेका कर्जा गएको र आयातका लागि प्रतीतपत्र (एलसी) भुक्तानीको कारण कर्जामा वृद्धि भएको देखिएको हो,’ उनले भने ।

बैंकहरूको कर्जा प्रवाह क्षमता पनि कसिलो हुने देखिएको छ । लामो समय निषेधाज्ञा हुँदाहुँदै पनि असार ७ गतेसम्ममा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी रेशियो) औसत ७८ दशमलव ५८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । करीब १ दर्जन वाणिज्य बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा सीसीडी ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशतसम्म पुर्‍याएकाले अधिकांशको कर्जा प्रवाह गर्ने क्षमता अझै करीब साढे ६ प्रतिशतको हाराहारीमा देखिएको छ । पछिल्लो समय केही बैंकको कर्जा प्रवाह क्षमता कसिलो भए पनि आत्तिनुपर्ने स्थिति भने नरहेको संघ अध्यक्ष दाहालले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्