लम्बियो पर्यटकको बसाइ अवधि



काठमाडौं,असार १५ । सन् २०२० मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको भए पनि पर्यटकको बसाइ अवधि भने लम्बिएको छ । सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार संख्यामा खुम्चिए पनि उनीहरूको बसाइ अवधि भने सन् २०१९ को भन्दा १९ प्रतिशतले वृद्धि भएको छ ।

नेपालमा पर्यटकको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ । २०२० मा भने १९ प्रतिशतले वृद्धि भई १५ दशमलव १ दिन पुगेको छ । नेपाल पर्यटन तथ्यांक–२०२० का अनुुसार नेपालमा पहिलोपटक पर्यटकको बसाइ १५ दिन पुगेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार नेपाल पर्यटन तथ्यांक–२०२० सार्वजनिक गरेको छ । सोही तथ्यांकअनुसार पर्यटकको बसाइ अवधि बढेको देखिएको हो ।

नेपालमा सर्वाधिक पर्यटक आएको वर्ष २०१९ हो । यस वर्ष नेपालमा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । उल्लेख्य मात्रामा पर्यटक आए पनि बसाइ भने साविककै वर्षहरूमा जस्तै औसतमा १२ दिन नै थियो । तर, २०२० मा कोरोनाका कारण संख्या घटे पनि पर्यटकको बसाइ अवधि भने बढेको छ ।

कोरोना भाइरसका कारण २०२० मा पर्यटकको बसाइ अवधि बढेको हुन सक्ने मन्त्रालयको अनुमान छ । उक्त वर्ष पर्यटनका धेरै गतिविधि खुला नगरिएको र कोरोना भाइरस नियन्त्रणका लागि बन्दाबन्दी गरिएको थियो । तर, नेपालमा पदयात्रा र पर्वतारोहणकै लागि मात्रै यस वर्ष पर्यटक आएकाले बसाइ अवधि लम्बिन पुगेको व्यवसायीहरू बताउँछन् । सामान्य अवस्थामा पनि पदयात्रा र पर्वतारोहणको उद्देश्यले आउने पर्यटकको बसाइ अवधि अन्यको तुलनामा बढी हुने गरेको छ ।

होटेल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाह २०२० मा नेपालमा जति विदेशीहरू आए उनीहरू पदयात्रा र पर्वतारोहणका लागि मात्रै आएकाले बसाइ अवधि लम्बिएको तर्क गर्छन् । ‘कतार, बराइनको राजकुमारहरू आउँदा पनि लामो समय बसेका थिए,’ उनले भने, ‘यसरी पर्यटकहरू पदयात्रा र पर्वतारोहणमा आउँदा बसाइ अवधि लम्बिएको हो ।’

२०२० मा अन्य पर्यटकीय क्रियाकलापहरूका लागि नेपाल आउन रोकिए पनि पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले भने विदेशी पर्यटकहरू आएका थिए ।

अहिलेको बसाइ अवधिले आगामी दिनमा पनि यत्ति नै लामो अवधि बस्छन् भन्ने यकिन नहुने उनको तर्क छ । नेपालमा खोपको व्यवस्था नहुँदा पर्यटक आउने वा बोलाउने विषयमा अन्योल नै देखिएको हुँदा आगामी दिनमा यो अवधि यत्तिकै रहन्छ वा घट्छ, भन्ने विषय निश्चित नभएको व्यवसायीहरूको भनाइ छ ।

तथ्यांकअनुसार सन् २०२० मा नेपाल भ्रमण तथा घुम्न आउने पर्यटकको उद्देश्यमा पनि परिवर्तन देखिएको छैन । पदयात्रा, पर्वतारोहण, धार्मिक, बिदा मनाउनेलगायत उद्देश्यले विदेशी पर्यटक नेपाल आउने गर्छन् ।

त्यसमध्ये यस वर्ष नेपालमा आउने विदेशी पर्यटकमध्ये ६० दशमलव ५ प्रतिशत बिदा मनाउन, १२ दशमलव ४ प्रतिशत साहसी पर्यटन अर्थात् पर्वतारोहण र पदयात्रा गर्न र १५ दशमलव ६ प्रतिशत धार्मिक स्थलको दर्शन गर्न र ११ दशमल ५ प्रतिशत अन्य कार्यका लागि आउने गरेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्