अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २०० पर्यटक पुग्दै
म्याग्दी,कात्तिक २२ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल तथा मौरिस हर्जोग पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो।
मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दसैँपछि दैनिक करिब २०० नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा पुगिरहेका छन्। गत असोजमा आएको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित रहेकाले युवायुवती तथा रोजगारीमा आबद्ध व्यक्तिहरूले बिदा मनाउन यस क्षेत्रलाई रोजेका छन्। पदमार्गका होटल, रेष्टुरेन्ट र क्याम्प पर्यटकले भरिभराउ भएका छन्।
समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पर्यटकको आगमन बढेपछि बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमै पूरा गर्न सकिने यो यात्रा छोटो, साहसिक र रमणीय रहेको प्रतिक्रिया दिएकी छन्।
पर्यटकको सहजताका लागि हुमखोलादेखि आधार शिविरसम्म विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया, खाजा, खाना तथा आवासको सुविधा उपलब्ध गराइएको छ। सन्धीखर्क, भुसकेट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ। त्यस्तै, हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुसकेट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ।
सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भारसमेत गरिएको छ। आधार शिविरमा अन्नपूर्ण प्रथमका पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाका सालिक राखिएका छन् भने खुला सङ्ग्रहालय पनि स्थापना गरिएको छ। गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिएका छन्।
नेपालमा ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने मौरिस हर्जोग पदमार्ग नारच्याङको दोभान, छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनबाट यात्रा गरेपछि सुरु हुन्छ। हुमखोलाबाट करिब २१ किलोमिटर पैदल यात्रा गरी दुई दिनमा आधार शिविर पुग्न सकिन्छ।
पदमार्गमा पर्ने फुतफुते झरना, पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको प्राकृतिक सुन्दरताले पर्यटकलाई थप आकर्षित गरेको छ। अनुकूल मौसम, साहसिक पदयात्रा र प्राकृतिक सौन्दर्यका कारण अन्नपूर्ण आधार शिविर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ।

