तिहारको तेस्रो दिन आज कुकुर तिहार, पूजा आराधना गरी मनाइँदै
काठमाडौँ,कात्तिक २२। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा कुकुरको पूजा आराधना गरी मीठामीठा परिकार खान दिएर कुकुर तिहार मनाइँदैछ।
यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाउनुपर्ने धार्मिक मान्यता छ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको द्वारपालका रूपमा रहेका श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सहज बनाइदिने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राध्यापक डा रामचन्द्र गौतमले बताउनुभयो।
धार्मिक मान्यताअनुसार कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको थियो। कुकुरलाई आज्ञापालक, इमानदार र सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। त्यसैले आज कुकुरलाई फूलमाला लगाई टीका अर्पण गरेर पूजा गर्ने तथा मिठो खानेकुरा खुवाउने परम्परा छ।
यसैगरी, आज नरक चतुर्दशी पनि मनाइँदैछ। बिहान अरुणोदयकालमा तीर्थ, नदी वा तलाउमा स्नान तथा तर्पण गरी यमदीप दक्षिण फर्काएर बालेर बगाउँदा मृत्युपछि नरकको दर्शन गर्न नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो। यसरी बत्ती बालेर बगाउने विधिलाई ‘नरके बगाउने’ भनिन्छ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत छ। यसले शरीर स्वस्थ रहने आयुर्वेदिक मान्यता रहेकाले तिहारलाई धार्मिक तथा स्वास्थ्य सुरक्षाका दृष्टिले महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ।

