इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन



काठमाडौ,असार २८ । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो ।

निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो ।

यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

इटालीले यूरो कप फुटबलको उपाधि जितेको यो दोस्रो अबसर हो । यसअघि उसले सन् १९६८ मा उपाधि उचालेको थियो । दोस्रो पटक यूरो कपको उपाधि उचाल्न उसले ५० वर्षभन्दा बढी समय कुर्नुपर्यो । इटाली हालसम्म चार पटक यूरो कपको फाइनलसम्मको यात्रा गरेको छ । सन् २००० र २०१२ मा इटाली फाइनलसम्मको यात्रा तय गरेपनि उपाधि जित्न सकेको थिएन ।

उता इंग्ल्याण्ड भने ३५ वर्षपछि प्रतियोगिताको उपाधि जित्ने सपना पुरा गर्न सकेन । घरेलु मैदानमा दर्शकको पूर्ण साथ र सहयोग पाएको इंग्ल्याण्डले सुरुवाती गोल गर्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । प्रशिक्षक गैरेथ साउथगेटको इंग्ल्याण्ड भने घरेलु मैदानमा इतिहास बनाउन पाएको अबसर गुमाउँदा निराश हुन पुग्यो । रोबर्टो मान्सिनीको इटालीले भने प्रतियोगिताको समूह चरणको सबै खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो । इटालीले अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो अपराजित यात्रालाई ३४ खेलसम्म पुर्याएको छ ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएका थियो । दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । १२१ औं मिनेटमा इंग्ल्याण्डले जोर्डन हेन्डरसनलाई बिस्थापित गर्दै मार्कश राशफोर्डलाई भित्र्यायो । जैडन साञ्चोको स्थानमा कायल वाकरलाई प्रशिक्षक साउथगेटले पठाए ।११८ औं मिनेटमा इटालीका एमरसनलाई एलेस्सान्ड्रो फ्लोरेञ्जीले बिस्थापित गरे ।

खेलको दोस्रो मिनेटमै ल्युक शाले गोल गर्दै घरेलु टोलिलाई १–० को अग्रता दिलाए । एटलेटिको मड्रिडका ‘फुलब्याक’ कायरन ट्रिपियरको पासलाई शाले गोलको दिशा दिदैं इंग्ल्याण्डलाई यूरो कपको फाइनलमा उत्कृष्ट सुरुवात दिलाए । इंग्ल्याण्डका प्रशिक्षक गैरेथ साउथगेटले सुरुवाती एघारमा डिफेन्डर ट्रिपियरलाई ल्याउनु नै आश्चर्यजनक निर्णयको रुपमा हेरिएको थियो । तर ट्रिपियरले आफ्नो रोजाईलाई प्रमाणित गर्दै शाका लागि गोलको अबसर सृजना गरे । सन् २०१८ को विश्वकप फुटबल र यूरो २०२० मा गरी कायरन ट्रिपियरले अन्य सबै डिफेन्डरभन्दा बढी २८ वटा अबसर सृजना गरेका छन् । उनीभन्दा बढी मात्र केभिन डे ब्रुनले ३६ वटा अबसर तयार गरेका छन् । पहिलो हाफको अधिकांश समय इटालीले बलमाथि नियन्त्रण राखेपनि गोल गर्न भने सकेन । दोस्रो हाफमा २२ मिनेटको खेलपछि लियोनार्दो बोनुसीले गोल गर्दै इटालीलाई खेलमा फर्काए । कर्नरबाट आएको क्रसलाई हयारी मग्वेरले रक्षा गरे । गोलपोष्ट नजिक इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफर्डले देब्रेतिर रोक्दा रिबाउन्ड भएको बललाई ६७ औं मिनेटमा बोनुसीले नजिकबाट गोलको दिशा दिए ।

पहिलो हाफमा नै इंग्ल्याण्डका कप्तान हयारी केनलाई लडाउन पुग्दा इटालीका निकोलो बरेल्लाले पहेंलो कार्ड पाए । लगत्तै रहिम स्टर्लिङ पाहुना टोलि इटालीको डी बक्स नजिक लड्न पुग्दा ‘फौल’ माँगेपनि खेल रेफ्रीले कुनै चासो देखाएन । निर्धारित समयको उत्तराद्र्धमा इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले पहिलो परिवर्तन स्वरुप ट्रिपियरको सट्टामा बुकायो साकालाई मैदानमा प्रबेश गराए । तीन मिनेटपछि जोर्डन हेडरसनले राइसलाई बिस्थापित गरे। इटालीका चिसाको खुट्टामा चोट लागेर बाहिरिदा फेड्रिको बर्नाडेस्कीले मैदानमा प्रबेश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्