बालकोटको बार्दलीबाट ओलीको गर्जनः परमादेशको किस्तीमा प्रधानमन्त्री बन्न पाइन्न



काठमाडौं, असार ३१ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेता माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताएका छन् । बुधबार सरकारी निवास बालुवाटार छोडी निजी निवास बालकोट पुगेका ओलीले निवासको बार्दलीबाट समर्थकहरूलाई सम्बोधन गर्दै एमालेको सरकार ढाल्न नेता नेपालले अगुवाइ गरेको बताए ।

ओलीले अरूले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर माधव नेपालको हकमा त्यो सम्भव नरहेको बताए। उनले भने– ‘हाम्रो साथीहरू बिकाउ माल बने, विरोधीलाई अदालतबाट सत्ता बुझाए, ती बिकाउ मालको अवस्था भविष्यले निर्धारण गर्ला त्यसो त अरू साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षीलाई प्रधानमन्त्री बनाउन जाने नेपाललाई पार्टीमा स्वीकार नगर्ने बताए ।

अरू साथीहरूलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमीकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको ओलीको भनाई छ ।

पार्टीभित्र विभिन्न तत्वको घूसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बताए। हिजो मात्र प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गरे।उनले अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको र नेपाली जनताको अधिकार खोसिएको बताए।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्