तिहार विशेष रैथाने मेला सुरु, स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य



काठमाडौं,कात्तिक २१। नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले काठमाडौंमा तिहार विशेष रैथाने मेला सुरु भएको छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा शनिबारदेखि तीनदिने मेला सुरु भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा आयोजना गरिएको मेलाले रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षण गर्ने लक्ष्य राखेको छ।

मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखेका छन्। तिहार विशेष परिकार, परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकला, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलाई मेलामा प्राथमिकता दिइएको छ।

स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणमार्फत कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्नुका साथै महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउने सरकारको लक्ष्य रहेको छ।

सरकारले आगामी दिनमा साताको दुई दिन सार्वजनिक बिदाको समय उपयोग गर्दै सप्ताहान्तमा पनि यस्ता मेला सञ्चालन गर्ने योजना बनाएको छ। यसै अभ्यासलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया दिनुहोस्