जलवायु परिवर्तनसम्बन्धी कविता वाचनमा गणेश भ्यू बाटिकाका राजकुमार तामाङ प्रथम



नुवाकोट,कात्तिक २१ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा नुवाकोटमा आयोजित अन्तरविद्यालयस्तरीय जलवायु परिवर्तनसम्बन्धी कविता वाचन प्रतियोगितामा गणेश भ्यू बाटिकाका राजकुमार तामाङ प्रथम भएका छन्।

प्याब्सन नुवाकोटको आयोजनामा, नुवाकोट एफएम १०६.८ मेगाहर्जको संयोजन तथा डिभिजन वन कार्यालय नुवाकोट र अर्किड एकेडेमीको सहकार्यमा शनिबार बट्टारस्थित अर्किड एकेडेमीको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो।

साहित्यका माध्यमबाट विद्यार्थीमा जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा नुवाकोट ग्लोरीकी सदिक्षा भट्टराई द्वितीय, अर्किड एकेडेमीकी अदिती रिमाल तृतीय र सेइ बोर्डिङकी आज्ञा खनालले सान्त्वना स्थान हासिल गरेकी छन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। अन्य सहभागी विद्यार्थीलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि अर्किड एकेडेमी नुवाकोटका प्रिन्सिपल रामहरि रिमाल, प्याब्सन नुवाकोटका सचिव रामजी भट्ट, निर्णायक संयोजक विष्णु आचार्य र डिभिजन वन कार्यालय नुवाकोटकी रेन्जर ओशना श्रेष्ठले विजेता तथा सहभागी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

साहित्यिक सिर्जनामार्फत विद्यार्थीमा वातावरणीय चेतना, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नुवाकोट एफएमका सचिव श्रीराम अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्