काठमाडौंसँगको हारले लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम
काठमाडौं,कात्तिक २२ । काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ। अघिल्लो सिजनका सात र यस सिजनका चार खेलमा अपराजित रहेको लुम्बिनी १२औँ खेलमा आएर पराजित भएको हो।
यस सिजन लगातार तीन खेल जितेको लुम्बिनी र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको थियो। काठमाडौंसँगको हारले लुम्बिनीको दुई खेल अगावै प्लेअफमा पुग्ने लक्ष्यमा धक्का लागेको छ। यद्यपि सात अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ। लगातार तीन खेल जितेको काठमाडौं गोर्खाज भने छ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो। सुरुवातमै धराशायी बनेको लुम्बिनीले पावर प्लेमा ३४ रन जोड्दा ६ विकेट गुमाएको थियो। ४.३ ओभरमै ६ विकेट गुमाएपछि लुम्बिनी खेलमा फर्कन सकेन।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अविशेष गौतमले १६, निरोशन डिकवेल्लाले १४ तथा रुवेन ट्रम्पलम्यानले ११ रन जोडे। काठमाडौंका जहानदाद खानले चार विकेट लिए। करण केसीले दुई तथा साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो।
काठमाडौंका ओपनर डेविड वार्नर र शाहिल पटेलले पहिलो विकेटका लागि १३.२ ओभरमा १०४ रनको साझेदारी गर्दै बलियो आधार तयार पारे। शाहिलले ३६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाए। उनी शेर मल्लको बलमा रोहित पौडेलबाट क्याच आउट भए।
वार्नरले ४९ बलमा नौ चौका र एक छक्काको मद्दतले ६६ रन बनाए। उनी पनि शेर मल्लकै बलमा सन्दीप जोराबाट क्याच आउट भए। सहान ३४ रनमा अविजित रहे। कप्तान करण केसीले नौ रन जोडे भने विलियम बसिस्टो गोल्डेन डकआउट भए। जहानदाद खानले छ र रासिद खानले एक रन बनाए।
लुम्बिनीका लागि शेर मल्ल, अविशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान दुई विकेट लिए।
एनपिएलमा आइतबार कुनै खेल हुने छैन।

