भोटेकोशी बाढीपीडितका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने
काठमाडौं,कात्तिक २२ । गत १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले विद्यालय तहदेखि उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी प्रभावित बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न मन्त्रीस्तरीय निर्णयमार्फत निःशुल्क शिक्षाको व्यवस्था अघि बढाएको हो। पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ। त्यसपछि प्रभावित बालबालिकाको पहिचान गरी क्रमशः थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो। अब उच्च शिक्षालाई समेत निःशुल्क बनाउने गरी थप व्यवस्था गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
‘पहिलो चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ। यसपछि पनि क्रमशः पहिचान गर्दै चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलले भने।
प्रस्तावित व्यवस्थाअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ। यसका लागि सम्बन्धित विद्यालयका छाता संस्था तथा स्थानीय तहलाई पत्राचार गरिनेछ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित स्थानीय तहमार्फत आवश्यक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।
उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामा थप गरी समावेश गर्नसमेत मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ। यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइनेछ।
सरकारको यो निर्णय कार्यान्वयनमा आएपछि भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले आफूले चाहेको विषय विद्यालय तहदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउनेछन्। विपद्का कारण अभिभावकविहीन बनेका बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था अघि बढाएको हो।

