वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार



वीरगञ्ज,साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्ष (आव) २०७७/७८ मा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो ।

आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा २६ अर्ब १६ करोड रुपैयाँको मालासामान भित्रिएको छ । यो भन्सार हुँदै ३८ करोड रुपैयाँ मूल्यका वस्तु निकासी भएको भन्सार कार्यालयले बताएको छ ।

वीरगञ्ज भन्सारबाट अघिल्लो आव २०७६/७७ को तुलनामा बितेको वर्ष कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ ।

निर्यात व्यापारमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘बितेको वर्ष इन्धन र सवारीका साधनको आयातमा कमी नदेखिए पनि कोरोना महामारीले पारेको असरका कारण अन्य व्यापारिक वस्तुको आयात भने ≈वात्तै घटेको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ।

गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले वैदेशिक व्यापार प्रभावित भएको भन्सार अधिकारीहरू बताउँछन् । आवको अन्त्यतिर सवारीका साधन चल्न थालेकाले इन्धनको आयात बढेको थियो ।

नयाँ सवारीसाधनको जाँचपास पनि पछिल्ला महीनामा बढेको भन्सारको तथ्यांकले देखाउँछ । जुत्ता, चप्पल, हार्डवेयर, उपकरण, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिए ।

आयातकर्ताले सुक्खा बन्दरगाह भन्सारबाट गतवर्ष फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरीच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्र्याएको उक्त भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले बताए । यो अवधिमा चाउचाउ, अचार, पिठो, टायर, छाला, जडीबुटीलगायत वस्तु निर्यात भएको जानकारी पनि कट्टेलले दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्