निर्यात खर्बभन्दा माथि : भटमासको तेलको अंश ३८ प्रतिशत



काठमाडौं,साउन १० । नेपालले पहिलोपटक वैदेशिक व्यापारमा रू. १ खर्बभन्दा बढीको निर्यात गरेको छ । यसअघि निर्यात आकडामा रू. १ खर्बसम्म पुग्न नसकेको नेपालले गएको आर्थिक वर्ष २०७७/७८ मा रू. १ खर्ब ४१ अर्बको निर्यात गरेको हो ।

यसमा सबैभन्दा महत्त्वपूर्ण योगदान भटमासको तेलको रहेको छ । यो नेपाली उत्पादन भने होइन । व्यवसायीहरूले बाहिरबाट कच्चा भटमास ल्याएर प्याकिङ गरी भारतमा निर्यात गर्ने गरेका छन् । यस वर्ष नेपालबाट कुल रू. ५३ अर्ब ६५ करोडको भटमासको तेल निर्यात भएको छ, यो कुल निर्यातको ३८ प्रतिशत अंश हो ।

यस अवधिमा बाह्य मुलुकबाट कच्चा भटमास पनि रू. ५३ अर्ब ३९ करोडको आयात भएको छ । यसअघि यसैगरी विदेशबाट कच्चा पाम ल्याएर निर्यात हुने गरेकोमा भारतले प्रतिबन्ध लगाएपछि पामको विकल्पका रूपमा भटमासको तेल अघि आएको थियो । वीरगञ्ज र विराटनगरमा मात्रै २०७५ यता पाम तेललाई नै प्राथमिकतामा राखी सञ्चालित १८ तथा नेपालगञ्ज, बुटवल, भैरहवालगायत ठाउँमा सामान्य सञ्चालित उद्योगमा पाम प्याकिङ हुने गरेको थियो । तर, पाममा प्रतिबन्धपछि व्यवसायीहरूले त्यहाँ भटमासको तेलको प्याकिङ शुरू गरेका थिए । गत असारमा पाम तेलमा लगाइएको प्रतिबन्ध पनि भारतले फुकुवा गरेकाले यस वर्ष २ अर्ब २ करोडको पाम तेल निर्यात भएको छ ।

रू. २ अर्बको प्रशोधित पाम निर्यात भएकोमा यस वर्ष कच्चा पामको आयात भने रू. ८ अर्बभन्दा बढीको भएको छ । व्यवसायीहरूले अर्जेन्टिना, बोलोभिया, इन्डोेनेशिया, बंगलादेश, अर्जेन्टिना, मलेशियालगायत मुलुकबाट कच्चा पाम तथा भटमास आयात गर्ने गरेका छन् ।

निर्यातभन्दा आयात बढी भए पनि व्यवसायीहरूले भटमास र पाम तेलको निर्यातले वैदेशिक व्यापारघाटा कम गरेको दावी गरेका छन् । मुरारका इन्डस्ट्रीका प्रदीप मुरारका भटमास र पामको निर्यातले वैदेशिक व्यापारघाटा घटाउनमा महत्त्वपूर्ण योगदान गरेको बताउँछन् । ‘भटमासको तेलको निर्यातका कारण पहिलोपटक नेपालको निर्यात १ खर्ब नाघेको छ,’ उनले भने, ‘यसले वैदेशिक व्यापारघाटा कम गर्छ, सरकारले प्रोत्साहन गर्‍यो भने वैदेशिक व्यापारमा महत्त्वपूर्ण योगदान यसको रहनेछ ।’ भर्खरै पामको निर्यात पनि खुकुलो गरिएकाले आगामी दिनमा पाम र भटमासको तेललाई संयुक्त रूपमा अघि बढाइने उनले बताए ।

अर्थविद्हरू भने भारतीय भन्सारको लाभ लिने गरी यसरी सञ्चालित व्यवसायले दीर्घकालीन रूपमा अर्थतन्त्रमा कुनै योगदान नगर्ने बताउँछन् । अर्थविद् रामेश्वर खनालले यसअघि वनस्पती घिउ र सुनका गहनाको निर्यातले पनि वैदेशिक व्यापारघाटा कम गरेको भनिने गरेकोमा अहिलेको पाम र भटमासको तेलको निर्यात पनि त्यस्तै हुने बताउँछन् । ‘यसलाई रोक्न र निरुत्साह गर्न त मिल्दैन तर यसको निर्यात बढेकोमा खुशी हुनुपर्ने र सरकारले यसलाई प्रोत्साहन गर्नुपर्ने कारण देखिँदैन,’ उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्