राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको छैन : अर्थमन्त्री



काठमाडौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्थमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला अर्थमन्त्रीले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताए ।

चालू आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ । अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि उसले गर्ने स्पष्ट पारे ।

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरूसँगको भेटमा मन्त्री शर्माले भने, ‘मैले गभर्नरलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट वञ्चित नहुन् भनेको हुँ ।’ वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थिति सृजना गर्न आफूले निर्देशन गरेको उनले बताए । ‘आम नागरिकलाई अप्ठ्यारो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन,’ शर्माले भने, ‘नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु ।’

मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने काम नगर्ने पनि उनले बताए । ‘जनतालाई अप्ठ्यारो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठ्यारो हुने काम नहुने गरी जेजे लेख्नुपर्ने हो लेख्नोस् भनेको छु,’ शर्माले थपे, ‘यसो भन्नु मेरो दायित्व हो ।’ मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन माग आएको उनले बताए ।

शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आपूm नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अन्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।

मन्त्री शर्माले अनुसन्धानमुखी तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गरेका छन् । साथै, यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर भएको उनको जिकीर छ । शर्माले भने, ‘आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु ।’

त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले तथ्यमा आधारित नीति बनाउन सघाउ पुग्ने बताए । उनले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भए पनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्