सहकारी बैंकको चेक क्लियरिङ नहुने समस्या अन्त्य गरिने



काठमाडौं,साउन २० । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य गरिने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलवार ललितपुरमा आयोजित ‘सहकारीमा लघुवित्त सम्मलेन–२०७८’ लाई सम्बोधन गर्दै उनले यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाउँ गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु,’ उनले भने ।

अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकका साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए । ‘उत्पादनमुखी अर्थतन्त्रमा टेवा पु¥याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ ।’ उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सृजना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सृजना, गरीबी अन्त्य तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताए । ‘गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने, तर गरीबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ,’ उनले भने । कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघुवित्त संस्थाहरूलाई उनले आग्रह गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्