गहना व्यवसाय विस्तारको बाटो खुल्यो : महासंघ



काठमाडौं,साउन २१ । विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै अब विदेशमा व्यवसाय विस्तार गर्न बाटो खुलेको व्यवसायीहरूले बताएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच गत आइतवार विद्युतीय भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएको थियो । सम्झौताअनुसार अब उक्त कम्पनीले सुनचाँदीका गरगहनाको कारोबारमा देशभित्र र विदेशमा पनि विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था गर्नेछ ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अब विदेशी बजारमा पनि व्यवसाय विस्तार गर्न सहज हुने बताए । ‘अन्तरराष्ट्रिय भुक्तानीमा सहज हुने गरी गेटवे पेमेन्ट कम्पनीसँग हालै सम्झौता गरिएको छ,’ उनले भने, ‘अब आवश्यक प्राविधिक प्रक्रिया तथा तयारी पूरा भएपछि अनलाइनमार्फत नै विदेशी बजारमा सुनचाँदीका गरगहना विक्री गर्न सकिनेछ ।’

पहिला भुक्तानी सम्बन्धमा उचित व्यवस्था नहुँदा विदेशी बजारमा व्यवसाय विस्तार हुन नसकेको उनी बताउँछन् । ‘पहिला अन्तरराष्ट्रिय कारोबारको भुक्तानी सम्बन्धमा उचित व्यवस्था थिएन । सम्पत्ति शुद्धीकरणलगायत नियम पालना गर्दा विभिन्न झन्झट सामना गर्नुपथ्र्यो । त्यसमाथि सिपिङका लागि पनि उचित व्यवस्था थिएन,’ उनले भने, ‘तर, अब त्यस्तो समस्या आउँदैन । कम्पनीले आउटसोर्स गरेर सिपिङको जिम्मेवारीसमेत लिने भएको छ । यसले सहजै विदेशी बजारमा व्यवसाय विस्तार हुनेमा उत्साहित छौं ।’

अब सबै सुनचाँदी व्यवसायीहरू गेटवे पेमेन्ट नेपालमा आबद्ध हुनुपर्नेछ । त्यसपछि भुक्तानी सम्बन्धमा व्यवसायी र कम्पनीको वेबसाइटलगायत विवरण इन्टरलिंक गर्नुपर्ने हुन्छ । साथै, व्यवसायीहरूले पनि तोकिएको मापदण्डअनुसार आप्mनो वेबसाइट बनाउनुपर्ने हुन्छ ।

निश्चित मापदण्ड तथा प्रक्रिया पूरा भएपछि व्यवसायीहरूले अनलाइनबाट आप्mनो गरगहना विक्रीमा राख्न सक्नेछन् । र, त्यो कुनै पनि देशका ग्राहकले सहजै अडर गरेर भुक्तानीसमेत गर्न सक्ने बताइएको छ । विदेशी ग्राहकले भुक्तानी गरेको पैसा २÷३ मिनेटमा नै व्यवसायीको खातामा आउनेछ । पेमेन्ट गेटवे कम्पनीले नै गरगहना सिपिङ गरेर सम्बद्ध ग्राहकलाई पठाउन सक्ने बताइएको छ ।

महासंघले मंगलवार नै उक्त पेमेन्ट गेटवे कम्पनीमा आबद्ध हुन जिल्ला संघहरूलाई निर्देशन दिएको छ । अब जिल्ला संघहरूले आफूअन्तर्गतका व्यवसायीहरूलाई उक्त कम्पनीमा आबद्ध हुन निर्देशन जारी गर्नेछ । त्यसपछि इच्छुक व्यवसायीहरू यसमा आबद्ध भएर अनलाइनमार्फत नै अन्तरराष्ट्रिय रूपमा कारोबार गर्न सक्नेछन् ।

महासंघले गेटवे कम्पनीको सफ्टवेयर प्रयोग गर्ने सम्बन्धमा तालीम कार्यक्रम आयोजना गरेको छ । उक्त तालीम गत मंगलवारदेखि शुरू भएको महासंघका अध्यक्ष शाक्यले बताए । महासंघका कर्मचारी मात्र उपस्थित भएको त्यो तालीम ४ दिनसम्म सञ्चालन हुनेछ ।

तालीममा गेटवे कम्पनीका प्रतिनिधिले सफ्टवेयर प्रयोग गर्ने प्रक्रियाको विषयमा जानकारी दिनेछन् । त्यसपछि तालीममा उपस्थित महासंघका कर्मचारीले व्यवसायीहरूलाई यस सम्बन्धमा तालीम दिने बताइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्