राजस्व संकलन दोब्बर पार्न निर्देशन



काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने सरकारको लक्ष्य भएको बताउँदै आवश्यक कार्ययोजना पेश गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व विभागका अधिकारीहरूसँग बिहीवार भएको छलफलको क्रममा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपायहरू तपाईं आफै फेला पार्नु हुनेछ,’ उनले भने, ‘त्यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालीम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर, राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्छ ।’

उनले करदातालाई कानून लगाएर कर तिराउने नभई करदाता आफैले कर तिर्न इच्छा लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए ।
‘करदाता आपैm उत्साहित भएर कर तिर्ने हुनुपर्छ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयका तर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्,’ मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन् । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्यांकन ? यसको हिसाबकिताब खोइ ? जनतासँग भएको सम्पत्ति केकति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति केकति हो ? यसको हिसाबकिताब गर्ने योजना पनि चाहियो,’ मन्त्री शर्माले भने ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए । राजस्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन उनले निर्देशन दिए । आन्तरिक राजस्व विभाग अन्तर्गतका ८४ ओटा कार्यालय सबैले राजस्व संकलनमा देखिएका समस्याहरूको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरूसमेत निकाल्न आग्रह गरे । प्रविधिको माध्यमबाट सबै राजस्व कार्यालयहरूलाई यथासक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउनसमेत उनले निर्देशन दिए । विसं २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगको तथ्यांक उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न बिलिङ सिस्टममा एकीकृत गर्न आग्रह गरे । देशका विभिन्न ठाउँमा रहेका ८४ ओटा राजस्व कार्यालयमध्ये ३० ओटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयलाई लक्ष्यअनुसारको काम गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए । गतवर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजस्व संकलन भएको उनको भनाइ थियो । आर्थिक वर्ष २०७७/७८ का लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा ४ खर्ब २९ अर्ब संकलन भएको विभागको भनाइ छ । चालू आर्थिक वर्षका लागि ५२२ अर्ब राजस्व संकलनको लक्ष्य तोकिएको छ ।

गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायीहरू करको दायरामा औपचारिक रूपले आबद्ध रहेको भए तापनि वार्षिक विवरण नबुझाउनेको संख्यामा वर्षेनि वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए । विभागका अनुसार कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेहरू आर्थिक वर्ष २०७४/७५ मा ३३ दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०७५÷७६ मा ३७ दशमलव ५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा उक्त संख्या बढेर ४२ दशमलव ९२ प्रतिशत पुगेको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्