रसुवा पहिरो अपडेट : पुरिएका चारै जनाको शव भेटियो



रसुवा,भदौ ३ । जिल्लाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा बुद्धि तामाङको घर पुरिँदा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ।

घर पुरिँदा बेपत्ता भएका बुद्धिको ३२ वर्षीया श्रीमती कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमाया र ५ वर्षीय छोरा आशिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बुद्धि गम्भीर घाइते रहेको रसुवाका प्रहरी प्रमुख डिएसपी देबेन्द्र पाण्डेयले जानकारी दिए।

शव पोष्टमार्टमका लागि नुवाकोटको त्रिशूली अस्पताल लगिएको छ। बाहिर सुतेका बुद्धि घाइते भएको र उनको एक छोरा मामाघर गएको सुन्नमा आएको प्रहरीले जनाएको छ।

बुद्धको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ। उनको ६ जनाको परिवार रहेको थियो। जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्