६ हजार शिक्षकको बढुवा उजुरी पुनरावलोकनको नतिजा प्रकाशन तीव्र
काठमाडौं,कात्तिक ११ । शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरी पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची प्रकाशन भइरहेको छ।
‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ संशोधनसहितको परिच्छेद १५ अनुसार प्राप्त कागजात तथा प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला र तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
विभिन्न प्रदेशका शिक्षा विकास निर्देशनालयबाट गरिएको कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरीमाथि अध्ययन तथा छानबिन गरी आयोगले पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएको थियो। तर, पछिल्लो छ महिना आयोगका पदाधिकारी रिक्त रहेपछि पुनरावलोकनको काम रोकिएको थियो।
आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ। यस्तै, गत असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको नतिजा सार्वजनिक गरेको थियो।
नेपाल सरकारले गत भदौ २५ गते डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्ष नियुक्त गरेसँगै पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढेको थियो। गत वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।

