नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो
काठमाडौं,कात्तिक ११ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ। मंगलबार सामान्य अवस्थामा रहेको बजारमा बुधबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको हो।
बुधबार ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर ६३ हजार ७४४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १ अर्ब ६६ करोड रुपैयाँले बढेको हो।
बुधबार बेनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट तहमा पुग्दै ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा कायम भएको छ। बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १० प्रतिशत बढेको छ भने सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। घलेम्दी हाइड्रोपावरको २८ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको साढे २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ। सेन्सेटिभ इन्डेक्स ६.३२ अंक, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले बढेका छन्।

