खिम्ती स्वामित्व हस्तान्तरणमा महालेखाको प्रश्न



काठमाडौं,भदौ ७ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्वको हस्तान्तरणमा ढिलाइ भएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । महालेखाले आफ्नो ५८औं वार्षिक प्रतिवेदन (२०७६/७७) मार्फत उक्त विषयमा प्रश्न उठाएको हो ।

नेपाल सरकार र प्रवर्द्धक कम्पनी हिमाल पावर लिमिटेडबीच भएको पूर्वसहमति अनुसार ६० मेगावाटको उक्त आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व २०७७ असार २७ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा आउनुपर्ने थियो । तर, तोकिएको म्यादमा उक्त आयोजनाको स्वामित्व हस्तान्तरण हुन नसकेको महालेखाले बताएको छ ।

त्यो म्यादसम्म मात्र होइन, आजको दिनसम्म पनि उक्त आयोजनाको स्वामित्व हस्तान्तरण हुन सकेको छैन । हाल हिमाल पावर र प्राधिकरणबीच अन्तरिम सम्झौता गरेर आयोजना सञ्चालन गरिएको छ ।

उक्त आयोजनाले २०५७ असारदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन शुरू गरेको थियो । सरकार र प्रवर्द्धक कम्पनीबीच भएको सम्झौताअनुसार विद्युत् उत्पादन शुरू भएको २० वर्षपछि उक्त आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व निःशुल्क रूपमा प्राधिकरणलाई दिनुपर्ने थियो । त्यसअनुसार २०७७ असारमा नै उक्त आयोजनाको ५० प्रतिशत शेयर प्राधिकरणको हुनुपर्ने हो । तर, त्यसका लागि आवश्यक प्रक्रिया पूरा नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उक्त आयोजनाको स्वामित्व हस्तान्तरण गर्न प्राधिकरण र प्रवर्द्धक कम्पनी दुवैको स्वामित्व हुनेगरी छुट्टै कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । तर, त्यस्तो कम्पनीसमेत स्थापना नभएको प्रतिवेदनमा उल्लेख छ । साथै, त्यसरी स्थापना हुने कम्पनीले प्राधिकरणसँग नयाँ विद्युत् खरीद विक्री सम्झौता गर्नुपर्ने हुन्छ । त्यस्ता प्रक्रिया पनि पूरा नभएको महालेखाले प्रतिवेदनले बताएको छ । सोही कारण स्वामित्व हस्तान्तरणमा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले कम्पनीको शेयर कारोबारको विषयमा पनि प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार उक्त आयोजनाबाट प्रतिघण्टा ३५० मिलियन किलोवाट विद्युत् उत्पादन हुने देखिन्छ । कम्पनीको सबैभन्दा ठूलो अंशियार एक नर्वेजियन कम्पनीले २०७७ असार २७ मा संस्थाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणबाट प्राप्त मुनाफा नर्वेजियन क्रोनर ११९ मिलियन हुने लेखांकन गरिसकेको छ ।

हिमाल पावरमा एक नेपाली कम्पनीको १६ दशमलव ९० प्रतिशत शेयर स्वामित्व रहेको र त्यस कम्पनीले २०७६ को अन्त्यमा आयोजना सञ्चालन गर्ने एक कम्पनीमा २९ लाख ७८ हजार ५०२ कित्ता शेयर प्रतिकित्ता ३९४ रुपैयाँ ५१ पैसाका दरले लगानी गरेको देखाएको छ । विभिन्न आधारमा आयोजनाको कुल शेयर १ करोड ७६ लाख २४ हजार २७२ कित्ता रहेको पुष्टि भएको महालेखाले बताएको छ । त्यसमा शेयरको किताबी मूल्य (रू. १००) घटाउँदा प्रतिकित्ता २९४ रुपैयाँ ५१ अर्थात् कुल ५४ अर्ब १९ करोड ५ लाख मुनाफा हुने देखिएको छ ।

उक्त मूल्य वर्तमान शेयरबजारको अवस्था विश्लेषण गर्दा असामान्य रूपमा न्यून देखिएको महालेखाले बताएको छ । तथापि उक्त कारोबार मूल्य र बजार मूल्यको फरक हिसाब गर्दा आउने रकममा २५ प्रतिशत लाभकर रू. १ अर्ब २९ करोड ७६ लाख रहेको र उक्तको शुल्क र ब्याजसमेत असुल हुन छुटेकाले थप छानविन गर्नुपर्ने महालेखाको भनाइ छ । साथै, छानविन गरी संस्था र सरकारले प्राप्त गर्नुपर्ने राजस्व यथाशीघ्र असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । खिम्ती निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । साथै, निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेका पनि यही आयोजना पहिलो हो । त्यसैले यस आयोजनाको स्वामित्व हस्तान्तरणको विषयलाई निकै महत्त्वका साथ हेरिएको छ । हिमाल पावर कम्पनीमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको लगानी छ । हिमाल पावरले सन् २००० जुलाईदेखि उक्त आयोजना सञ्चालनमा ल्याएको थियो । तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने गरी सम्झौता गरिएको थियो । सम्झौताअनुसार आयोजना सञ्चालन भएको ५० वर्षपछि भने शतप्रतिशत शेयर स्वामित्व प्राधिकरणको हुनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्