सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतवार सुनुवाइ



काठमाडौं,बैशाख २२ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ । 

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा शुक्रबार  अनलाइनका कार्यकारी सम्पादक नविन ढुंगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतवार सुनुवाइ गर्ने भएको हो ।

सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बिहीवार बयान लिइसकेको छ भने अडियो उपलब्ध गराउने ललितपुर, गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतवार बयान लिने यसअघि नै तय गरिसकेको छ ।

तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो । अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेका थिए । 

सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्