नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत
काठमाडौं,बैशाख २२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरू सूचीकृत भएका छन् ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. २२ अर्ब ६९ करोड बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८८ ‘ज’ नामक विकास ऋणपत्र आठ वर्ष अवधिको लागि रू. ७ अर्ब बराबरको, २०८८ ‘झ’ नामक विकास ऋणपत्र आठ वर्ष अवधिको रू. ८ अर्ब बराबरको र २०८६ ‘ड ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको रू. ७ अर्ब ६९ करोड बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
राष्ट्र बैंकले २०८८ ‘झ’ नामक विकास ऋणपत्र वार्षिक ५ दशलमव ९२ प्रतिशत ब्याजदरमा २०८० माघ २६ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८८ माघ २६ गते हुनेछ । त्यसैगरी २०८८ ‘झ’ नामक विकास ऋणपत्रको वार्षिक ५ दशलमव ७४ प्रतिशत ब्याजदरमा २०८० फागुन ३० गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ ।
त्यस्तै २०८६ ‘ड’ नामक विकास ऋणपत्रको वार्षिक ५ दशमलव ४८ प्रतिशत ब्याजदरमा २०८० चैत ९ गते निष्कासन गरेको थियो । यस ऋणपत्रको साँवा भुक्तानी २०८६ चैत ९ गते हुनेछ ।

