पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई



काठमाडौं, भदौ १४ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ। यसैक्रममा नेकपा (एस) ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो। नेकपा ९एस० ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन। छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ। नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ।

नेकपा ९एस० संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ।

बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। ‘संसदीय दलको अध्यक्ष नेपाल भएका कारण पार्टीबाट सरकारमा जानेको टुंगो लगाउने जिम्मेवारी उहाँलाई नै दिइएको छ। सत्ता गठबन्धनबीच मन्त्रालय टुंगो लागेलगत्तै सरकारमा सहभागी हुनेछौं’, नेकपा ९एस० का सांसद विरोध खतिवडाले भने। संसदीय दलको बैठक सञ्चालन खतिवडाले गरेका थिए।

बैठकमा अध्यक्ष नेपालले आफ्नो दल सरकारमा सामेल हुने जानकारी गराउँदै मन्त्रीहरूले छोटो समयमै जनताको मन जित्नेगरी राम्रो काम गर्ने उद्देश्य राख्नुपर्ने बताएका थिए। बैठकले वेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा ९एस० ले शनिबार हाइकमान्ड गठन गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

‘मन्त्रालय संख्या र पार्टीले पाउने मन्त्रालयबारे अझै टुंगो लागिसकेको छैन, सम्भवतः गठबन्धनका सबै दलबीच छलफल भएपछि अन्तिम टुंगो लाग्छ,’ नेता भुसालले भने। स्रोतका अनुसार नेपालले देउवा र दाहालसँगको छलफलमा पूर्वाधार विकास निर्माणसँग जोडिएका मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन्। जसअनुसार भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, सञ्चार तथा सूचना प्रविधि, भूमि व्यवस्था तथा सहकारी र कृषि मन्त्रालय नेकपा ९एस० लाई दिने विषयमा देउवा सकारात्मक बनेको स्रोतको भनाइ छ। यी सबै मन्त्रालय विकासे मन्त्रालय हुन्।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्