भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान



काठमाडौं,भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आउँदो बुधवार दिउँसो ४ बजे संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । शनिवार नै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

सर्वाेच्च अदालतको फैसलापछि दोस्रोपटक पुनःस्थापना भएको प्रतिनिधिसभाको बैठक साउन ३ गते बसेको थियो । बैठकमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । राजनीतिक दल विभाजनलाई सहज हुनेगरी अध्यादेश जारी गर्न सरकारले साउन ३२ गते संसद्को अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश अनुसार एमाले र जनता समाजवादी पार्टीबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् ।

निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न पाउने समय दिएको छ । आयोगले नयाँ दल रोज्न दिएको समय सकिने भोलिपल्ट संसद्को अधिवेशन आह्वान गर्न सरकारले सिफारिश गरेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्