संघीयता सेतो हात्ती हो, जनतालाई सास्ती बाहेक केहि छैन- श्रीकृष्ण खतिवडा [भिडियो]



नुवाकोट,भदौ २० । नुवाकोटका पुराना कम्युनिस्ट नेताका रुपमा परिचित श्रीकृष्ण खतिवडाले संघीयतालाई सेतो हात्तीको नामले ब्याख्या गरेका छन् । साझा पथ डटकमको भिडियो संस्करणमा कुराकानी गर्दै खतिवडाले संघीयताले आम नेपालीलाई दुख र सास्ती बाहेक केहि उपलब्धि दिन नसकेको बताएका छन् ।

संघीयताको नाममा हुने खाने र पहुँचवालालाई मात्र फाइदा पुगेको बताउदै खतिवडाले आफुले सुरुवाती समयदेखि नै संघीयताको अर्थ नरहने बताउदै आएको स्पष्ट पारे। २०३८ सालदेखि नेपाल कम्युनिस्ट पार्टी एमालेमा सक्रिय राजनीति गर्दै आएका खतिवडा आजभोलि घरमै रहेर घरायसी कामधन्दामा समय बिताउदै आएको बताउँछन् । जीवनभर राजनीति गरे, तर नेतृत्व तहको मै खाउ मै लाउ प्रवृत्तिले राजनीति शब्द नै तुच्छ लाग्ने गरेको खतिवडाले बताए।

नुवाकोटको लिखु भेगका एक कम्युनिस्ट हस्तिका रुपमा परिचित खतिवडा पछिल्लो समय न माधब पक्षको कार्यक्रममा देखिन्छन् न ओली पक्षको। साझापथले जीवनभर एमालेको चर्चा बोकेर हिड्नु भयो आजकाल हराउनुभयो नि भन्ने प्रश्नमा आफू नहराएको तर स्वार्थ सिद्ध राजनीतिदेखि वाक्क लागेको भने स्पष्ट पारे।

कुराकानीकै सन्दर्भमा खतिवडाले देशलाई संघीयता निल्नु न ओकल्नु हुने आकलन समेत गरे । खतिवडाले भने-‘गरिब जनता ऋणमा डुबेका छन् यहाँका साना स्तरका नेता जनताको करमा मस्ती गर्न लागिपरेका छन् । जताततै भष्ट्रचार, विकास शुन्य। के यहि हो लोकतन्त्र, जनतातन्त्र। लोकतन्त्रको नाउमा जनतालाई सास्ती बाहेक केहि छैन।’ नेता खतिवडाले थपे – ‘अबको चुनावमा म संघीयताको विपक्षमा मतदान गर्न चाहन्छु।’

हेर्नुस् भिडियो संवाद:-

प्रतिक्रिया दिनुहोस्