दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या



दैलेख,भदौ २९ । दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या भएको छ। जिल्लाको गुराँस गाउँपालिका–८ का शिक्षक नगेन्द्र विसीको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो। उनको सोमबार राति १० बजेपछि धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको अनुमान छ।  

विसीको घर विद्यालयदेखि चार समय मिटर टाढा छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार सोमबार विसी घरमा एक्लै थिए। विसीका छोराछोरी र बुवा बाँकेको नेपालगञ्जमा बस्छन्। श्रीमती जग्गा पास गर्न दैलेख सदरमुकाम गएकी थिइन्। प्रहरीले घरदेखि चार सय मिटर टाढाको विद्यालयमा भएको हत्या घटनालाई गम्भीर रुपमा लिएको छ।  

‘घटनास्थलमा बरामद गरिएका केही प्रमाणका आधारमा अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौं,’ प्रहरी निरीक्षक सुनारले भने, ‘रातिको समयमा घरदेखि चार समय मिटरको दूरीमा रहेको विद्यालयमा हत्या हुनु गम्भीर विषय छ।’ प्रहरीले शंकास्पद पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै एकै घरका हुन्। प्रारम्भिक बयान पनि भइनसकेकाले हत्याका विषयमा अहिलेनै केही भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्