प्युठानको अर्तुबाङमा पहिलो पटक पुग्यो बिजुली, स्थानियवासीमा खुसियाली



प्युठान,भदौ २९ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको प्युठानको गौमुखी गाउँपालिका–१ अर्तुबाङमा पहिलो पटक बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरण बिजुवार वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत अर्तुबाङको ६२ घरधुरीमा बिजुली बलेको हो ।

पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका सुपरभाईजर प्रकाश केसीले जानकारी दिए । उनले भने, “हालसम्म विद्युत् सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छौ ।”

केसीले प्युठानका १० प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दशै तिहारभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पुर्याउने बताए ।

उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत नौबहिनी गाउँपालिका–१ को स्याउँलिवाङ र गौमुखीको अर्खा र रजवारामा विद्युत् सेवा पुर्याउन काम तीव्ररुपमा चलिरहेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि संघीय सरकारबाट प्युठानमा ७ करोड रुपियां बजेट विनियोजन भएको सुपरभाईजर केसीले जानकारी दिए ।

अर्तुबाङका स्थानीयवासी तेजु गिरीले पहिलो पटक बिजुली बल्दा गाउँलेमा खुसी छाएको बताए । प्युठानमा झिमरुक जलविद्युत् आयोजना सञ्चालन भएको २७ बर्षपछी गाउंमा बिजुली बाल्ने सपना पूरा भएको गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्