पाल्पामा जनगणना सुरु, ९२ जना सुपरीवेक्षक परिचालन



पाल्पा,भदौ ३० । राष्ट्रिय जनगणना– २०७८ का लागि पाल्पामा ९२ जना सुपरीवेक्षक परिचालन गरिएको छ । आज बुधबार देखि शुरु भएको जनगणनाका लागि सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको पाल्पाका सहायक जनगणना अधिकारी लेखनाथ पाण्डेले जानकारी दिनुभयो । “पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौ,” उनले भने । निर्धारित तालिका अनुसार मूल जनगणना भने कार्तिक २५ देखि मंसिर ९ सम्म हुनेछ ।

सुपरिवेक्षकहरुले आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या भर्नेछन् । जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ। दोस्रो चरणमा गणकहरुमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरणहरू सङ्कलन गरिनेछ ।

दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरू पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्