रेलवे ढुवानीमा प्रतिस्पर्धा



हिन्द टर्मिनलको रेल वीरगञ्ज आएकै दिन कोन्करको भाडामा ठूलो कटौती

वीरगञ्ज,भदौ ३१ । भारतीय समुद्री बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा निजी रेल कम्पनीले सेवा शुरू गरेलगत्तै त्यसअघि ढुवानीमा एकाधिकार जमाएको कम्पनीले भाडा स्वात्तै घटाएको छ ।

नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलोपटक निजी रेल कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन यसअघि ढुवानी सेवा दिइरहेको भारतीय कन्टेनर निगम (कोन्कर) ले भाडा घटाएको हो ।

३ महीनाअघिमात्रै भारतीय निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्नेगरी सम्झौता संशोधन भएको थियो । बुधवार हिन्द टर्मिनलको रेल भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

कोन्करले बुधवारै जारी गरेको सूचनामा कोलकाता बन्दरगाहबाट वीरगञ्जसम्मको प्रतिकन्टेनर भाडा ३१ देखि ३७ प्रतिशतसम्म घटाएको देखिन्छ । त्यस्तै हल्दिया बन्दरगाहबाट हुने ढुवानीमा पनि भाडादर उल्लेख्य घटाएको छ ।

कोन्करले तत्कालै लागू हुने भन्दै भाडादर पुनरवलोकनको सूचना निकालेको हो । सन् २००४ को रेलसेवा सम्झौताले भारतीय रेलवेको सहायक कम्पनी कोन्करलाई एकाधिकार दिएको थियो । वीरगञ्ज सुक्खा बन्दरगाहसम्म भारतीय रेलवेले रेलमार्ग बनाइदिएको थियो ।

कोन्करको एकाधिकारका कारण रेल भाडामा मनपरी भइरहेको भन्दै नेपालको निजीक्षेत्रले सम्झौता संशोधनको माग गर्दै आएको थियो । नेपाल सरकारले संशोधन प्रस्ताव राखे पनि विगतमा भारतीय पक्षबाट आनाकानी हुँदै आएको थियो ।

निजी रेल कम्पनीले सेवा शुरू गरेलगत्तै भाडा घटाउनुले विगतमा कोन्करले नेपालका लागि कन्टेनर ढुवानीमा मनपरी भाडा लिएको पुष्टि भएको व्यवसायीहरू बताउँछन् ।

कोन्करले कोलकाता बन्दरगाहबाट वीरगञ्जसम्म कन्टेनर ल्याएर खाली कन्टेनर पुनः कोलकातास्थित सिपिङ कम्पनीको यार्डमा पुर्‍याउँछ ।

यो शर्तमा २० फीटको कन्टेनरमा ३१ मेट्रिक टनसम्मको मालसामानको नयाँ भाडादर भारतीय रुपया (भारू) ३९ हजार ८५६ छ । ४० फीटको कन्टेरमा ३० मेट्रिक टन ल्याउँदा ५८ हजार ८ भारू पर्छ । मंगलगवारसम्म यो दर क्रमशः ६१ हजार ४६६ र ८५ हजार १९८ भारू थियो ।

कोलकाता र हल्दियाबाट मालवस्तुको अन्य परिमाणका आधारमा तोकिएको भाडामा पनि व्यापक कटौती भएको छ । कोन्करले हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्मको भाडा पनि २५ देखि ३१ प्रतिशतसम्म घटाएको छ ।

नेपालको वैदेशिक व्यापारमा पूर्वाधार र प्रतिस्पर्धा बढाएर व्यापारको लागत घटाउन सकिने उच्च सम्भावना रहेको कोलकातास्थित तत्कालीन नेपाली महावाणिज्यदूत एकनारायण अर्याल बताउँछन् । अहिले नेपाल सरकारको सचिव रहेका अर्यालले कोलकातामा महावाणिज्यदूतको रूपमा रहँदा नेपाली आयातमा त्यहाँको भन्सारमा कागजी प्रक्रिया हटाउन र ढुवानीमा प्रतिस्पर्धा बढाउन सक्रिय थिए ।

‘अहिले वीरगञ्जमा मात्र रहेको रेल सेवाको पूर्वाधारलाई जतिसक्दो चाँडो अन्य नाकाहरूमा पनि विस्तार गर्ने र नेपाल रेलवेले आप्mनो रेल सञ्चालनमा ल्याउने हो भने नेपालको वैदेशिक व्यापारलाई थप प्रतिस्पर्धी बनाउन सकिन्छ,’ अर्यालको बुझाइ छ ।

नेपालमा अहिले कन्टेनर ढुवानीका लागि कोन्करसहित चार कम्पनी अगाडि आएका छन् ।

बन्दरगाह सञ्चालन गरिरहेको प्रिस्टाइन भ्यालीको मुख्य भारतीय साझेदार कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ ।

यो कम्पनीले कोलकाताबाट कन्टेनर ढुवानीका लागि त्यहाँको भन्सारसम्बन्धी प्रक्रिया अघि बढाइसकेको जानकारी आएको त्यहाँस्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए । भारतमा बन्दरगाह र रेलसेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको अधिकारीहरूले बताएका छन् ।

निजी सेवाप्रदायकको प्रवेशसँगै ढुवानी भाडा घट्नु नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक भएको महावाणिज्यदूत पौडेलको भनाइ छ । ‘ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धा बढ्नु अत्यन्तै सकारात्मक छ । यो अवसरलाई नेपाली व्यवसायीहरूले उपयोग गर्नुपर्छ,’ उनले भने ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्